एनआईसी एशिया र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहक महानुभावहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहक महानुभावहरूले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिने जनाएको छ । उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस वा एनसीएलएल–आईपीएस भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको छ ।

यस ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहक महानुभावहरूले बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सक्नुहुनेछ । यस प्रणाली सुरुवात गरेपश्चात् प्रयोगकर्ताहरू आफैले तोकिएको कारोबार सीमा भित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७० एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *