माओवादी केन्द्र स्थायी कमिटी बैठक बस्दै, रविको गृह दाबीबारे छलफल हुने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी पटक-पटक सरेर शनिबार अपरान्ह १ बजेका लागि बोलाइएको छ।

समसामायिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारेको लफडासहित स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यलाई केन्द्रीय विभाग बाँडफाँडको एजेन्डाका लागि बसिरहेको बैठक शुक्रबार बस्न नसकेपछि शनिबार १ बजेका लागि बोलाइएको हो।

रास्वपाले बिहीबार नै सरकार छाडने संकेतका बीचमा बैठक बोलाइए पनि अन्ततः पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्तताको कारण छोटो समयमा नै बिहीबार स्थगित हुन पुगेको थियो। त्यसपछि शुक्रबार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि शनिवार अर्थात् आज १ बजे बोलाईएको हो।

बैठकले मुख्यतः रास्वपासँगको विवाद र केन्द्रीय विभागहरुको कार्यविभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ।