सातो कपः रविन्द्र, मनिष र सञ्जुलाई स्वर्ण



काठमाडौं । सातो कप इन्टरनेशनल २०२० मा नेपालका रविन्द्र मानन्धरले स्वर्ण हात पारेका छन् । क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाईन कराते प्रतियोगिता सातो कप इन्टरनेशनल २०२० को डिभिजन जि को ४० बर्ष माथिको पुरुष मास्टर्स ब्राउन देखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुुन् ।

नरहरीपुर डोजो, मच्छेगाउँका प्रमुख प्रशिक्षक समेत रहेका मानन्धरले युबिसी सितोरियो सातो हा कराते क्लबका माईक नाकात्सुलाई फाईनलमा पराजित गरेका थिए । नेपाल सितोरियो कराते संघको तर्फबाट प्रतिस्पर्धा गरेका उनले २३.५२ अंक जोडेका थिए । पराजित माईकले २२.०६ अंक प्राप्त गरेका थिए ।

मानन्धरले १५ दिन अघि मात्र पनि कराते फिलिपिन्स लिगको आयोजनमा भएको सातौं नासिमुरा कप अनलाईन कराते च्याम्पियनपिमा नेपालका लागि स्वर्ण जितेका थिए ।

प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य गरि ६ पदक जितेको छ ।

नेपालको लागि स्वर्ण दिलाउने क्रममा महिला डिभिजन ३९ अन्तरगत ब्लुदेखि ब्राउन बेल्ट समूहमा निता आचार्यले २४.७२ अंकका साथ स्वर्ण जितिन् । आचार्यले युबिसी गोजुरियोकी थी अडसेनलाई पराजित गरेकी थिईन् । थीले २४.१० अंक प्राप्त गरेकी थिईन् ।

निताले अक्टोबर ३० र ३१ मा नेशनल कराते अफ ब्राजिलको आयोजनमा भएको अनलाईन कराते वल्र्ड च्याम्पियनसिमा पनि स्वर्ण हात पारेकी थिईन् । यस्तै निताले केरला कराते संघको आयोजनमाम भएको सद्गुरु मास्टर्सकप अनलाईन ईन्टरनेशनल कराते काता च्याम्पियनसिपमा पनि स्वर्ण हात पारेकी थिईन् ।

नेपालका लागि अर्को २ स्वर्ण सन्जु देसार र मनिष कार्कीले जोडे । सञ्जुले डिभिजन २७ अन्तरगत महिला १४ १५ बर्ष ब्लु देखि ब्राउन बेल्टको विधामा भानकोभर सातो हा सितोरियोकी भानिशा क्वानलाई फाईनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

सञ्जुले २३.६२ अंक जोडेकी थिईन् भने पराजित क्वानले २२.२८ अंक जोडेकी थिर्ईन् । यस्तै मनिष कार्कीले डिभिजन ३० को पुरुष १४१५ बर्ष ब्लु देखि ब्राउन बेल्ट प्रतिस्पर्धामा इसिन काईका हिरोकी मेगावालाई पराजित गर्दै स्वर्ण जिते । मनिषले २४.४६ अंक प्राप्त गर्दा हिरोकीले २४.१६ अंक प्राप्त गरेका थिए ।

नरहरीपुर डोजो, मच्छेगाउँका उपाध्यक्ष हाल मकाउ निवासी मनिन कुमार महर्जनको सहयोगमा सहभागित जनाएको प्रतियोगितामा डिभिजन एफ अन्तरगत पुरुष ब्लाकबेल्ट ईलाईटमा स्वनिम मानन्धरले २२.९२ अंकका साथ कास्य प्राप्त गरे । यस्तै डिभिजन डी पुरुष १६१७ बर्ष ब्लाकबेल्ट ईलाईटमा प्रनिल मानन्धरले २२.४० अंकका साथ कास्य प्राप्त गरेको खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए ।

बिजयी खेलाडीहरु सवै नरहरीपुर डोजो, मच्छेगाउँका खेलाडीहरु रहेको समेत प्रशिक्षक मान्धरले बताए ।

प्रतियोगितमा क्यानडा लगायत नेपाल, भारत, युएसए, मोजाम्बिक, अष्ट्रेलिया, पोर्चुगल, जापान र जर्मनी गरि ९ राष्ट्रको सहभागिता रहेको थियो ।