भूकम्प पुनर्निर्माणः घरनै नबनाएका भाईलाई तेस्रो किस्ता भुक्तानीका लागि पूर्ववडाध्यक्षको सिफारिस



ओखलढुंगा । महाभुकम्पको ७ बर्ष बितिसक्दा पनि कतिपय पीडितले अझै सरकारले ब्यवस्था गरेको घर निर्माण किस्ता प्राप्त गर्न सकेका छैनन् । प्रशासनिक झन्झट र सम्बन्धित निकायमा पहुँच नहुँदा कतिपय पीडित नियम बमोजिम आफूले पाउने सुविधाबाट वञ्चित भएको समाचार बेला बेलामा मिडियामा छाइ रहन्छन् ।

तर आफ्ना मान्छे हुने र पहुँचवालाले भने घरनै निर्माण नगरी भुकम्प पीडित सुविधाको रकमको तेस्रो किस्तासम्म लिएको पाउन सकिन्छ । जसको जल्दो बल्दो उदाहरण हुन् ओखलढुंगास्थित खिजीदेम्बा–४ का पूर्णप्रसाद न्यौपाने । न्यौपानेले घर निर्माण त परै जाहोस् जगसमेत खनेका छैनन् । तर उनले भुकम्प पीडित राहतको तेस्रो किस्ताका लागि सिफारिस समेत पाइसकेका छन् । उनले उक्त सुविधा आफ्ना सहोदर दाजु वडाध्यक्ष भएकै कारणले पाएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्प पीडितले राज्यले व्यवस्था गरेको रकम तीन किस्तामा लिने प्रावधान बनाएको छ । जसमा पहिलो किस्ता भुकम्प पीडितमा सूचीकृत भएपछि सुरुमा सजिलै प्राप्त गर्न सक्नेछन् । त्यसपछिको दोस्रो किस्ता घरको जग सम्पन्न भएको तस्विरसहित निवेदन पेश गरेपछि मात्र उपलब्ध गराउने नियम छ । त्यसपछि मात्र प्राविधिकले काम हेरेर तेस्रो किस्ताको लागि आवश्यक सिफारिस गर्नसक्नेछन् ।

न्यौपानेले भने कामै सुरु नगरी तेस्रो किस्ताको लागि सिफारिस पाएका छन् । उनलाई उक्त सिफारिस दाजु समेत रहेका पूर्व वडाध्यक्ष कमलप्रसाद न्यौपानेले गरेका हुन् ।  उनले उक्त सुविधा पहुँचका भरमा पाएका हुन् । गाउँलेहरुका अनुसार यो सुविधा लिनका लागि आवश्यक नै थिएन । उनी वास्तविक पीडित पनि होइनन् । न्यौपाने परिवारको अंशवण्डा पनि नभएको गाउँलेहरुले बताउँछन् ।

तर यहि वडामा घर सम्पन्न गरेर पनि तेस्रो किस्ताका लागि वडा चक्करमा घुमिरेहका केही व्यक्तिहरु छन् । ति मध्यका एकले पुर्व वडा अध्यक्षले व्यक्ति हेरेर काम गर्ने गरेको गुनासो गरे । ‘हामीले काम सम्पन्न गरि सक्दा पनि यो मिलेन त्यो मिलेन भनेर सिफारिस पाइएन’ नाम उल्लेख नगर्ने सर्तमा ति पीडितले भने, ‘उनका भाइले भने घरको जग नै नहाली रकम भुक्तानी पाइसकेका रहेछन् ।’ पूर्ववडाध्यक्षका भाइले भने सजिलैसँग यो सुविधा पाउनुलाई सानालाई ऐन पहँुचवालालाई चैन भने भैm भएको उनले सुनाए ।

जानीजानी गल्ती गर्नेलाई कानुन बमोजिम कडा कारवाही हुनुपर्ने गाउँलेहरुको माग छ । न्यौपानेले भुकम्प पीडितको दोस्रो किस्ता लिइसकेकाले गाउँलेहरु भने घरै नबनाई कसरी पाए भनेर तीन छक्क परेका छन् ।