उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच श्रम बजारबारे सम्झौता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

विहीबार महासंघको टेकुस्थित सचिवालयको हलमा आयोजित कार्यक्रममा नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्यसहितको परियोजना कार्यान्वयन गर्ने विषयमा महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

महासंघको तर्फबाट अध्यक्ष भवानी राणा र ब्रिटिस काउन्सिलको तर्फबाट कन्ट्री डाइरेक्टर साहिदा म्याकडुगलले सम्झौता पत्रमा हस्ताक्षर गरेको संघले जनाएको छ । सम्झौतापत्रमा आयोजकका अनुसार परियोजना कार्यान्वयनमा प्रत्यक्ष सरोकार राख्ने नेपालका निजी क्षेत्रका छाता संस्थाहरु नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका पदाधिकारीहरुको उपस्थितिमा हस्ताक्षर भएको हो ।

उक्त कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट अध्यक्ष रवि सिंहले स्वदेशमा कामदार पाउन कठिन भइरहे पनि विदेशमा कामदारहरु गइरहेको अवस्थालाई परियोजनाले सम्बोधन गर्न सहयोग गर्ने बताएका हुन् ।

निजी क्षेत्रका लागि सम्झौता कोशेढुङगा सावित हुने र त्यसको पूर्ण कार्यान्वयनका लागि महासंघ प्रतिबद्ध रहेको अध्यक्ष सिंहले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, होटल संघ नेपालका उपाध्यक्ष विनायक शाह, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन बहादुर कटुवाल लगायतले नेपालको श्रम बजारको पछिल्लो अवस्था बारे आ–आफ्नो धारणा राखेको आयोजकले बताएको छ ।

परियोजनाको प्रभावकारी कार्यान्वयन कृषि, पर्यटन तथा निर्माण उद्योगमा सरोकार राख्ने संघ संस्थाहरुलाई अत्यन्त फलदायी हुने अपेक्षा गरिएको र राज्यका निकायहरुलाई सम्बन्धित् क्षेत्रमा निति तथा कार्यक्रम तर्जुमा गर्नका लागि समेत सहयोग गर्ने महासंघले जनाएको छ ।