स्थानीय निर्वाचन-२०७८: हुप्सेकोटमा कुन पार्टीबाट कस्को कति सम्भावना ?



नवलपुर । देशभर आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दो क्रममा छ । देशका प्रायः सबै जसो स्थानीय तहमा आगामी नेतृत्वका लागि छलफल हुने क्रम बढेको छ । कतिपय स्थानीय तहमा यसअघिकै जनप्रतिनिधि दोहोरिने सम्भावना रहेको छ भने अधिकांशमा नयाँ जनप्रतिनिधि चुनिने सम्भावना रहेको छ ।

स्थानीय निर्वाचनकै पूर्वसन्ध्यामा पूर्वी नवलपरासी अर्थात् नवलपुरको सबैभन्दा ठूलो गाउँपालिका हुप्सेकोटमा चुनाबी सरगर्मी बढेको छ । गत २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भएको हुप्सेकोटमा यसपटक पनि मुख्यगरी यिनै दुई दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी पाण्डेले बाजी मारेको हुप्सेकोटमा यसपटक भने कसले टिकट पाउने भन्नेमै ठूलै रस्साकस्सी  हुने देखिएको छ । गत निर्वाचनमा मुलुकमै पहिलो महिला गाउँपालिका प्रमुखका रुपमा निर्वाचित पाण्डेलाई मतदाताले फेरि दोहोरिनु पर्ने अभिमत राखिरहेका बेला वडा मै पराजित भएका कतिपय आकांक्षीहरु पनि देखिएका छन् ।

पार्टीको केन्द्रीय नेतृत्वसँगको सम्बन्धका साथै शिक्षित र महिला एवं सम्पूर्ण वर्गको दुःख बुझ्ने एवं नवलपुरका स्थानीय तहका नेतृत्वमध्ये उत्कृष्ट कार्यसम्पादन गरेकी पाण्डेलाई पुनः एक कार्यकालका लागि गाउँपालिका सुम्पिनुपर्ने प्रतिपक्षी एमालेका कार्यकर्ताहरु समेत बताउँछन् । प्रतिपक्षी एमालेबाट निर्वाचित उपप्रमुखसँगको सहकार्य र समन्वयमा गाउँपालिकाको विकासमा उत्कृष्ट काम गरेकी पाण्डेले एमालेकै मतदाता र कार्यकर्ताबाट पनि मत र साथ पाउने देखिन्छ ।

कतिपयले पाण्डेले सुरु गरेको हुप्सेकोटको विकास कार्यको निरन्तरता र धौवादी फलाम खानीमा सञ्चालनका लागि केन्द्रसँग गर्नुपर्ने छलफल र प्रक्रिया र गाउँपालिकाको दायित्व र अधिकारका बारेमा निडर र प्रष्ट कुरा राख्नसक्ने र जानकार समेत भएको हुनाले पाण्डेलाई नै निरन्तरता दिनुपर्ने जनाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट अर्का आकांक्षी देखिएका छन्– हुप्सेकोट गाउँपालिका सभापति बलबहादुर राना । १४ औं गाउँ अधिवेशनबाट गाउँपालिका सभापतिमा निर्वाचित भएका रानाले यसपटक आफूले नै गाउँपालिका प्रमुख पाउनुपर्ने दाबी गरेका छन् । स्वयं पालिका सभापति भएको हुनाले उनको दाबीलाई कतिपयले सहजताका साथ स्वीकारेको पनि पाइएको छ । तर, गत स्थानीय निर्वाचनमा वडा नं. ४ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका राना १९१ मतले पराजित बनेका थिए । वडा मै पराजित भएका व्यक्तिले गाउँपालिका प्रमुखमा उठाउँदा के नतिजा आउने हो भन्नेमा कांग्रेस जिल्ला नेतृत्व भने सोचनीय भएको बताएको छ ।

ठेक्कापट्टा व्यवसाय गर्दै आएका रानामाथि पार्टी सञ्चालन र नेतृत्वको अनुभवको कमीले प्रश्न भने उठ्ने नै गरेको छ । युवा परिचालनमा पोख्त राना संघीय संसदका पराजित उम्मेदवार विष्णु कार्की निकट रहेको पनि जनाइएको छ ।

त्यस्तै हुप्सेकोट गाउँपालिकामा कांग्रेसका तर्फबाट अर्का सम्भावित उम्मेदवार पूर्णसिं राना हुन् । नेपाली कांग्रेसको अधिवेशनमा क्षेत्रीय उपसभापतिमा पराजित राना मगर समूदायमा लोकप्रिय नेताको रुपमा रहेका छन् । मतदातासँग र जिल्ला नेताहरुसँग राम्रो सम्बन्ध रहेका रानाले पनि यसपटक गाउँपालिका प्रमुखमा दाबेदारी गरेका छन् । क्षेत्रीय उपसभापतिमा पराजित बनेपछि राना विशेष गरी गाउँपालिकाको नेतृत्वका बलिया आकांक्षी पनि देखिएका हुन् ।

नेकपा एमालेका तर्फबाट भने गत निर्वाचनमा वडा नं. ३ बाट वडाध्यक्ष निर्वाचित भएका छविलाल मिधुन गाउँपालिका प्रमुखका बलियो उम्मेदवार देखिएका छन् । स्थानीय तहमा राम्रोसँग भिज्ने अवसर पाएका मिधुन मगर समूदायकै भएको र गाउँपालिकाको काम पनि एक कार्यकाल सम्पन्न गरिसकेको हुनाले उनले गाउँपालिकाको विकासमा योगदान दिनसक्ने ‘भिजन’ रहेको एमाले मतदाताहरुले बताउने गरेका छन् । गाउँको विकासका लागि सबैलाई सहकार्य गराउनसक्नु मिधुनको अर्को सफलता रहेको बताउँदै उनलाई नै गाउँपालिकाको प्रमुखको उम्मेदवार बनाउनुपर्ने एमाले कार्यकर्ताहरुले आवाज उठाउन थालेका छन् ।

त्यस्तै गत स्थानीय निर्वाचनमा वडा नं. ४ बाट वडाध्यक्षमा निर्वाचित रोशन थापाले पनि गाउँपालिका प्रमुखमा दाबी गरिरहेको स्रोतले जनाएको छ । गत निर्वाचनमा कांग्रेसका अहिलेका गाउँपालिका सभापति एवं आगामी कार्यकालका लागि प्रमुखको आकांक्षी रहेका बलबहादुर रानालाई वडाध्यक्षमा हराएका थापाले आफूले जसरी पनि टिकट पाउनुपर्ने बताउने गरेको कार्यकर्ताहरुले जनाएका छन् ।

त्यस्तै नेकपा एमाले गाउँपालिका कमिटीका अध्यक्ष चेत बहादुर राना (चेतन)को पनि अध्यक्षका लागि मतदाताबीच चर्चा रहेको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका राना गाउँपालिका कमिटी अध्यक्षमा निर्वाचित भएपछि जसरी पनि हुप्सेकोटमा नेकपा एमालेलाई जित दिलाउने अभियानमा लागेका छन् । रानाले अहिले आफ्नो प्रमुख दायित्व र उद्देश्य पार्टीलाई गाउँपालिकामा जित दिलाउने भएको बताउँदै त्यसका लागि पार्टीका तर्फबाट जो बलियो उम्मेदवार देखिन्छ उही व्यक्तिले नै सर्वसम्मत् रुपमा उम्मेदवारी दिने बताए ।

एमालेबाट अर्की सम्भावित उम्मेदवार हुन् वर्तमान उपप्रमुख स्वतन्त्र कोपिला मल्ल । गत स्थानीय निर्वाचनमा कांग्रेसका युवा नेता ओमबहादुर घर्तीलाई ५३ मतले पराजित गर्दै हुप्सेकोट उपप्रमुखमा एमालेलाई जित दिलाएकी ६० वर्षीय मल्ल भने सम्भावित उम्मेदवार भए पनि आकांक्षी भने देखिएकी छैनन् । उनले यसपटक पार्टीको उम्मेदवारलाई बाहिरैबाट सहयोग गरेर गाउँको विकासका लागि रहने बताउने गरेकी छिन् ।

उता, माओवादी केन्द्रको भने खासै प्रभाव नरहेको हुप्सेकोटमा पनि केन्द्रकै निर्णयको मुख ताकेर बसेका छन् । तर, गत स्थानीय निर्वाचनमा उम्मेदवारी दिएको माओवादीले यसपटक केही हदसम्म संगठन सुदृढ गरेको देखिएको छ । त्यसैले माओवादीबाट गाउँपालिका कमिटी अध्यक्ष चन्द्रबहादुर थापा ‘समर’ र झबिलाल रानाले गाउँपालिका प्रमुखमा दाबेदारी जनाएका छन् ।

एकीकृत समाजवादीको भने खासै प्रभाव नदेखिए पनि केही भोट पाउने देखिएको छ । समाजवादीले एमालेकै भोट काट्ने देखिएको छ । तर पनि समाजवादीका केही नेताहरुले आफू उम्मेदवारी नभएमा केन्द्रको नीतिबमोजिम स्थानीय निर्वाचनमा सहभागी हुने बताउने गरेका छन् । अन्य दल रहे पनि हुप्सेकोटमा मुख्य रुपमा नेपाली कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

६ वटा वडा रहेको हुप्सेकोट यसअघिको स्थानीय निर्वाचनमा गाउँपालिका प्रमुख र वडा नं. १, २, ५ र ६ नम्बर वडामा नेपाली कांग्रेसले जित हात पारेको थियो भने उपप्रमुखसहित वडा नं. ३ र ४ मा भने एमालेले जित हात पारेको थियो ।