याक एण्ड यतिमाथि कारबाही, वर्गीकरण रद्द, बैंक खाता रोक्कादेखि होटल ‘सील’सम्म गर्ने तयारी



काठमाडौं । राजधानीको केन्द्र दरबारमार्गमा अवस्थित होटल याक एण्ड यतिको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनुपर्ने ४२ करोड रोयल्टी पटकपटक ताकेदा गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सो होटलको पाँचतारे वर्गिकरण र क्यासिनोको इजाजजपत्र रद्द गरिदिएका छन् ।

बुधबार नेपाल सरकार मन्त्रीस्तरिय निर्णयले याक एण्ड यति होटल लिमिटेड, दरबारमार्ग, काठमाडौंको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८।०९।२२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेका थियो ।

पर्यटनमन्त्री आलेले नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानून बमोजिम होटलले दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रीय कार्यालयमा लगत कसिएको तथा यस विभागको अभिलेखमा आर्थिक वर्ष २०७६–०७७ सम्मको बाँकी बक्यौता आर्थिक वर्ष २०७७–०७८ को इजाजतपत्र नवीकरण दस्तुर, आ.व. २०७८–०७९ को रोयल्टी दस्तुर समेत गरी ४२ करोड २५ लाख ६८ हजार २ सय ५३ रुपैयाँ ४२ पैसा नबुझाएकाले कानुनअनुसार क्यासिनो सञ्चालन इजाजतपत्र र होटलको स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको बताए ।

विभागले यो निर्णय कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलाई सहयोग गरिदिन पत्राचार गरेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उक्त होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिनु पनि पत्राचार गरिएको छ ।

त्यस्तै राष्ट्र बैंकलाई उक्त होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिनु हुन अनुरोध छ ।

क्यासिनो नियमन गर्ने पर्यटन विभागका अनुसार नेपाल सरकारलाई तिर्न बुझाउन बाँकी रहेको सन्दर्भमा विगतका वर्षहरुमा पनि पटकपटक पत्राचार तथा सार्वजनिक सूचनामार्फत याक एण्ड यति होटललाई जानकारी गराइएको थियो ।

बाँकी बक्यौता दाखिला चालु आर्थिक वर्ष ०७८।०७।०७ मा पैतीस (३५) दिने र मिति २०७८।०९।२७ मा पन्ध्र (१५) दिने अवधि तोकी पत्राचार गरिएको थियो ।

उक्त रकम दाखिला नगरेको देखिएकाले मिति २०७८।१०।१९ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा सात (७) दिनभित्र क्यासिनो सञ्चालन बापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गर्दा पनि तोकिएको अवधिभित्र दाखिला नगरेकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम त्यस होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको पाँच (५) तारा स्तरको स्तर वर्गीकरण प्रमणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरिएको हो ।