प्रशासनले लगायो सिराहामा निषेधाज्ञा

बिहान ५ बजेदेखि ७ बजेसम्म हिँडडुलमा समेत रोक



सिराहा । विगत केही दिनदेखि आम हड्तालको नाममा जनमत पार्टीले गरेको चक्काजाम र सवारीसाधन, प्रहरीमाथिको आक्रमणका कारण सिरहामा आज बिहानैदेखि निषेधाज्ञा गरिएको छ।

जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते अर्थात आज र भोली निषेधाज्ञा गरिएको बताए। बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।

साथै निषेधाज्ञाका बेला पनि राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सञ्चालन हुने प्रजिअ कवारीले जारी गरेको सूचनामा उल्लेख छ।