युवाको भूमिकालाई केन्द्रमा पुर्याउने लक्ष्यसहित पौडेलले दिए देउवा पक्षबाट केन्द्रीय सदस्यमा उम्मेदवारी



स्याङ्जा । आसन्न १४ औं महाधिवेशनबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो क्रममा देखिएको छ । पछिल्ला दिनमा उम्मेदवारी घोषणा गर्नेमा कांग्रेसका युवा उम्मेदवारहरु धेरै देखिएका छन् । यसै क्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य समेत रहेका स्याङ्जा युवानेता विष्णु पौडेलले पनि कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

पछिल्ला दिनहरुमा राजनीतिमा युवाहरुको सहभागीता अनिवार्य रहनुपर्ने माग बढीरहेको परिवेशमा पौडेलको उम्मेदवारीले कांग्रेस कार्यकर्ताहरु उत्साहित भएका छन् । युवा पुस्ताको राजनीतिप्रतिको उत्साहलाई शीरोधार्य गर्दै पौडेलले आगामी महाधिवेशनबाट केन्द्रीय समितिमा गएर युवाको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजनीतिक परिवारमा हुर्किएका पौडेल पछिल्लो समय स्याङ्जा जिल्ला साथै गण्डकी प्रदेश हुँदै मुलुककै उदाउँदो नेतृत्वका रुपमा स्थापित हुने क्रममा छन् ।

विद्यार्थी जीवनदेखि नै राजनीति गर्दै आएका पौडेल पटकपटक विपक्षी राजनीतिक दलका भातृ संगठनका कार्यकर्ताबाट भौतिक आक्रमणमा समेत परेका थिए । विपक्षी दलसँग विचारको राजनीति गर्न माहिर पौडेल वालिङ बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार समेत रहेका थिए । नेपाल विद्यार्थी संघ स्याङ्जाका उपाध्यक्ष समेत भएका पौडेललाई स्याङ्जामा विपक्षीमाथि धावा बोल्न सक्ने युवा नेताको रुपमा चिनिने गरिन्छ ।

गण्डकी प्रदेश र देशभरका युवा, विद्यार्थीहरु र तरुणहरुका माझ लोकप्रिय छवि बनाएका पौडेलले केन्द्रीय समितिमा ४० वर्ष भन्दा कम उमेरका युवाहरुको सहभागिता अपरिहार्य ठान्दै आफूले उम्मेदवारी दिएको बताउँछन् ।

यसअघिको १३ औं महाधिवेशनमा दोस्रो सर्वाधिक मतका साथ महासमिति सदस्यमा निर्वाचित भएका पौडेलले कांग्रेस बरिष्ठ नेता खगेन्द्रराज रेग्मीलाई महाधिवेशन प्रतिनिधि छाडिदिएका थिए । पौडेल यसपटक पनि जिल्लामा दोस्रो सर्वाधिक मतका साथ महासमिति सदस्यमा विजयी भएका थिए ।

२०७४ सालको निर्वाचनमा स्याङ्जा जिल्ला संघीय निर्वाचन क्षेत्र न २ को प्रदेशसभा ‘क’को प्रदेश सांसदको उमेदवार बनेका पौडेल झिनो मतान्तरले पराजित भएका थिए ।

पौडेलले केन्द्रीय समितिमा आफ्नो उपस्थिति पार्टीको संगठन सुदृढीकरण, युवा तथा तरुणहरुको प्रतिनिधित्वको एजेण्डा स्थापित गर्दै लोक कल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण सावित हुने बताएका छन् ।

केन्द्रमा शेरबहादुर देउवा, गोपालमान श्रेष्ठ निकट रहेर काम गरेका पौडेलले पछिल्लो समय युवा नेताहरु विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल, नैनसिंह महरको टिममा रहेर काम गर्दै आएकोले आप्mनो जित सुनिश्चित भएको बताए । उनले देशभरका तमाम् कांग्रेस युवा कार्यकर्ताको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्दै आगामी दिनमा पार्टीमा युवाको भूमिकालाई अपरिहार्य बनाउने प्रण समेत व्यक्त गरे ।