जीवा लामिछाने भन्छन्, ‘३२ वर्षअघि पर्खाल भत्काउँदै गरेको हेर्न म पनि गएँ’
बर्लिनको पर्खाल सन् १९८९ मा भत्किँदा म सोभियत सङ्घमा पढ्थेँ।
त्यस वर्ष नोभेम्बर ९ मा बर्लिनको पर्खाल भत्कन सुरु भएको थियो। म त्यसको झन्डै एक महिनापछि बर्लिन पुगेँ।
छुट्टीको समयमा हामी जर्मनी लगायत पश्चिमा देशहरू जाने गर्थ्यौँ। म दुई तीन वर्षदेखि त्यसरी जाने गरेको थिएँ।
त्यो बेलामा सोभियत सङ्घमा पढ्ने विद्यार्थीहरू आफ्नो निजी प्रयोगका लागि भनेर सामग्री ल्याउन पाउँथे।
बिजुलीले चल्ने विभिन्न किसिमका उपकरण र लुगाकपडाहरू किनेर निजी प्रयोगका लागि भनेर ल्याउने अनि रुसमा बिक्री गर्ने।
सोभियत सङ्घमा गोर्भाचोभले पेरेस्त्रोइका (सुधारका कार्यक्रम) सुरु गरिसकेका थिए।
ती सामानहरू अलि अलि बेचबाच गर्दा केही खर्च पनि उठ्थ्यो। त्यो प्रयोजनका लागि हामी जाने गर्थ्यौँ। फुर्सद हुनासाथ हामी त्यसरी सामान लिन जान्थ्यौँ।
किनभने त्यतिबेला पश्चिम जर्मनीले नेपाली लगायत अन्य धेरै देशलाई ‘अन अराइभल भिसा’ दिन्थ्यो। टिकट किनेर गए भइहाल्थ्यो।
सहज भएकाले हामी नियमित रूपमा जाने गर्थ्यौँ।
बर्लिनको पर्खाल भत्केको पनि हेर्न मन थियो। र मैले अघि भनेका प्रयोजनका लागि म त्यस बेला गएको थिएँ।
नोभेम्बरमा पर्खाल भत्काउन सुरुवात मात्रै भयो।
एक सय ५५ किलोमिटर लामो त्यो पर्खाल भत्काउन निकै लामो समय लाग्यो।
म त्यहाँ हेर्न पुग्दा पनि पर्खाल भत्काइँदै थियो। मैले त्यो हेरेँ। रमाइलो लागेर फोटोहरू खिच्यौँ।
पर्खालका टुक्राहरू सम्झनाका लागि बोक्यौँ। अहिले पनि हेर्न आउने मान्छेका लागि भनेर सानो सानो भागहरू त्यसै राखिएका छन्।
म अहिले एक महिना अगाडि मात्र पनि बर्लिन गएको थिएँ।
अक्टोबर ३ मा उनीहरूको जर्मन एकता दिवस हुन्छ, त्यसै सन्दर्भमा गएको थिएँ।
अहिले त्यस बेला पर्खाल भएको ठाउँमा अहिले बाटोको बीचमा सेतो रङ्ग लगाएर राखिएको छ। त्यो हेर्न गएका थियौँ।
जर्मनी १९४९ मा पूर्वी र पश्चिमी जर्मनीमा विभाजन भयो।
सन् १९४५ मा दोस्रो विश्वयुद्ध सकिए पनि चार वर्षसम्म पूर्वी जर्मनी सोभियत सङ्घको ‘स्याटलाइट’ राज्यका रूपमा रह्यो र ४९ मा जर्मनीलाई दुई भागमा विभाजन गरियो।
पूर्वी जर्मनीमा डेमोक्रेटिक रिपब्लिक भनेर साम्यवादी व्यवस्था सुरु भयो।
पश्चिम जर्मनी बेलायत अमेरिका र फ्रान्सको नियन्त्रणमा रहने गरेर विभाजन भएपछि पश्चिम जर्मनीले खुला बजार अर्थतन्त्र अपनायो।
पूर्वी जर्मनीमा राज्य नियन्त्रित अर्थतन्त्र भयो।
पूर्वी जर्मनी विकासका हिसाबले धेरै पछाडि परेको थियो। तुलनात्मक रूपमा हेर्दाखेरि। घुम्दा पनि देखिन्थ्यो छर्लङ्ग। तीस वर्ष झन्डै विकासको प्रक्रिया रोकियो भनौँ।
त्यहाँ विकास हुँदै नभएको त होइन आफ्नो हिसाबले भयो भन्छन्।
तर पनि पश्चिम जर्मनीको तुलनामा पछाडि परेको थियो।
जर्मन एकता भएपछि हामी एउटै जर्मन जातिहरू सबैतिर समान विकास हुनुपर्छ भनेर पश्चिम जर्मनीमा रहने सङ्घीय सरकारले १६ वटा राज्य जोडेर एकीकृत बुन्डेसलान्ड बनायो।
पश्चिम जर्मनहरूले पूर्वी जर्मनीका लागि विकास गर्नका लागि भन्दै सोलिड्यारिटी सर्चार्ज नाममा अतिरिक्त कर तिर्न थालेको पनि अहिले ३२ वर्ष भइसकेको छ।
हामीले यत्रो पैसा कर तिरिसक्यौँ उता तिरका मानिसहरूले अझ पनि हामीहरूको तुलनामा काम कमै गर्छन् भनेर पश्चिम तिरका मानिसले सोच्छन्।
पूर्वतिरका मानिसहरूले पनि हामीलाई अलिकति भेदभाव भएको हो कि भन्ने महसुस गरेको पाउँछु कताकता।
देख्दाखेरि विभाजन भएको पाइँदैन तर कहिलेकाहीँ कुराकानीका क्रममा मैले यस्तो पनि सुन्ने गरेको छु।
त्यहाँ रहँदा बस्दा विभाजनको घाउमा खाटा बस्न लामो समय लाग्दो रहेछ कि भन्ने मैले अनुभव गरेको छु।
तर आम रूपमा त्यस्तो छैन। किनभने जर्मनहरू सहिष्णु जाति मलाई लाग्छ। यसलाई मैले विम्बको रूपमा प्रयोग गरेको हुँ।
विभाजन भयो त्यो दुर्भाग्यपूर्ण कालखण्ड थियो।
त्यसलाई इतिहासमा पछाडि धकेलेर अगाडि बढ्नुपर्छ भन्ने सङ्घीय राज्य र आम नागरिकको चाहनाअनुसार नै त्यो भएको थियो।
म १९८६ मा सोभियत सङ्घ गएँ। एक वर्ष अगाडि रुसमा मिखाइल गोर्भाचोभले आइसकेका थिए।
उनले ७० वर्षदेखि चलिआएको सोभियत राज्य व्यवस्था अब त्यस्तै गरी चल्न सक्दैन, सुधार गर्नुपर्छ भनेर उनले एउटा सुधारवादी योजना पेरेस्त्रोइका र ग्लास्नोस्त सुरु गरे।
त्यस बेला वार्सा सन्धि सङ्गठन भनिने सोभियत प्रभुत्वमा पूर्वी युरोपका देशमा साम्यवादी व्यवस्था थियो।
यिनीहरूलाई पनि हामीले बेस्सरी नियन्त्रणमा राख्नु हुँदैन भन्ने धारणा विकसित भइरहेको थियो।
त्यहाँ पनि परिवर्तनको लहर आउन थालिसकेको थियो र त्यसलाई अब खुकुलो पार्दै जानुपर्छ भन्ने गोर्भाचोभले निर्णय गरे।
र, जसरी चेकोस्लोभाकियामा केही वर्ष अगाडि विद्रोह गर्दा सोभियत सङ्घको नेतृत्वमा दमन गरिएको थियो। त्यस्तो उनले पोल्यान्डमा उनले गरेनन्।
जर्मनीको बीचमा सन् १९४९ मा पर्खाल लगाइए पनि त्यहाँ झन्डै ३० लाख मानिसहरू भागेर पूर्व जर्मनीबाट पश्चिम जर्मनीतिर गइसकेका थिए।
मानिसको विद्रोहको लहर एकदमै चरमोत्कर्षमा पुगेको थियो।
यतातिर गोर्भाचोभको उदय हुनु र पूर्वी युरोपमा विद्रोहको ज्वाला विस्फोट हुनु।
मलाई लाग्थ्यो अब यो फलामको पर्दा धेरै दिन टिक्दैन।
हामी त्यति बेला सोभियत सङ्घमा अध्ययन गर्ने विद्यार्थीहरू अहिलेजस्तो सामाजिक सञ्जाल र इन्टरनेट नभए पनि टेलिभिजनबाट समाचार हेर्थ्यौँ।
त्यति नै बेला अमेरिकाका तत्कालीन राष्ट्रपति रोनल्ड रेगन बर्लिन आएका थिए। बर्लिनको ब्रान्डन्बर्ग गेटमा बाहिरै उभिएर उनले प्रभावशाली भाषण गरेका थिए।
मिस्टर गोर्भाचोभ ‘टीअर डाउन दिस वाल’ भन्ने उनको वाक्यांश त्यतिबेला निकै चर्चित थियो।
त्यस्तै खालका गीतहरू पनि त्यहाँ गाइन थालेको थियो। यो पर्खाल भत्किन्छ र भत्काउनैपर्छ भन्ने माहोल बनेको थियो।
हामीलाई पनि लाग्थ्यो यो जबरजस्ती लादिएको व्यवस्था अब धेरै दिन टिक्दैन होला भन्ने। हामी तिनै विषयमा छलफल गर्थ्यौँ।
एक वर्षपछि त त्यही नै भयो। बर्लिन पर्खाल भत्किएको एक वर्ष पछि त जर्मनी एकीकरण भयो।
त्यसको एक वर्षपछि सोभियत सङ्घ समाप्त भयो र वार्सा सन्धि सङ्गठनका सबै देशहरूमा प्रजातान्त्रिक लहर आयो।
अमेरिकालाई टक्कर दिन सक्ने राष्ट्र रुस विखण्डन भयो। एउटा व्यवस्था नै सकिएको हामीले आफ्नै आँखाले देख्न पायौँ।
बर्लिनको पर्खाल अनि वार्शा सन्धि सङ्गठन भत्केकोबाट मैले बुझेको कुनै पनि बलपूर्वक गरिएको चीज केही समय टिक्ला तर दिगो रहन सक्दैन भन्ने नै हो।
(हाल जर्मनीमा बसोबास गर्दै आएका गैर आवासीय नेपाली व्यवसायीका पूर्वअध्यक्ष तथा लेखक जीवा लामिछानेले बीबीसीकी रमा पराजुलीसँग गरेको कुराकानीको सम्पादित अंश): साभारः बीबीसी