जहाजको ‘ककपिट’ माया मार्दै कर्णालीको ‘क्याप्टेनसीप’मा शाही
सुर्खेत । राजनीतिमा नलागेको भए यतिबेला जीवनबहादुर शाही विश्वको कुनै ठाउँमा जानका लागि जहाजको ककपिटमा बसेर जहाज उडाइरहेका हुन्थे । व्यावसायीक योग्यतालाई चटक्क माया मार्दै राजनीतिमा होमिएका शाही यतिबेला कर्णाली प्रदेशको मुख्यमन्त्रीको कुर्सीमा पदासिन छन् ।
विसं २०२१ फागुन २० गते हुम्लाको खार्पुनाथ गाउँपालिका–५ अन्तर्गत खर्पेल गाउँमा बाबु मानबहादुर शाही र आमा बेलकली शाहीको कोखबाट जन्मिएका शाही बुढानिलकण्ठ स्कुलबाट विद्यालय तहको शिक्षापछि राजधानीको त्रिचन्द्र क्याम्पसबाट आईएससी पास गरे । त्यसपछि पाइलट कोर्सका लागि अमेरिका गए । पाइलट कोर्स उत्तीर्ण भएपछि एक वर्ष व्यावसायीक विमान उडाएका शाही त्यसलगत्तै नेपाल फर्केर राजनीतिक जीवन सुरु गरे ।
हुम्ला कांग्रेसको संस्थापक अध्यक्ष बनेका शाहीले लगातार १६ वर्षसम्म नेतृत्व सम्हाले । उनले २०४६ देखि २०६२ सालसम्म हुम्ला जिल्लाको पार्टी सभापति भए । राजनीतिमा होमिएकै बेला २०६२/६३ को जनआन्दोलनमा तीन महिना जेलमा बिताएका शाहीले हुम्ला कांगे्रसको सभापति, जिल्ला विकास समिति हुम्लाको सभापति, तत्कालीन कांगे्रस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, नेपाली कांगे्रसको १२ र १३औँ महाधिवेशनबाट केन्द्रीय समिति सदस्य निर्वाचित बन्न सफल भए । त्यसपछि विसं २०६८ देखि २०७२ सम्म महाकाली इञ्चार्जका रुपमा जिम्मेवारी पूरा गरे ।
राजनीतिसँगै अध्ययनलाई पनि निरन्तरता दिएका शाहीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरे । त्यसपछि संघीय सरकारमा २०७३ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खानेपानी तथा सरसफाई मन्त्री बने ।
वसन्तीकुमारी सिंह शाहीसँग विवाह गरेका उनका तीन सन्तान छन् । जसमा २ छोरा र १ छोरी छन् ।