३१ सय ११ अंककाे विन्दुमा नेप्सेकाे नयाँ किर्तिमान, काराेबार रकम ११ अर्ब ५२ कराेड



काठमाडाैं – शेयर बजार परिसूचक नेप्सेले आज मङ्गलवार ३१ सयको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्सेले ३१ सय विन्दु पार गरेको नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक हो । साेमवार र आइतवार सामान्य बढेको नेप्से आज २६ दशमलव शून्य दुई अङ्कले बढेर ३१ सय ११ दशमलव शून्य नौ विन्दुमा पुगेको हो ।

आज दुई सय २३ कम्पनीका दुई करोड ११ लाख कित्ता शेयर ११ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै अपी पावर कम्पनीको ४६ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज पाँचथर पावर कम्पनी, घलेम्दी हाइड्रो, रुरु जलविद्युत्, जीवन विकास लघुवित्त र युुनियन लाइफको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि युनिलिभर नेपाल कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।