प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, ओलीका मन्त्रीसमेत देउवाका मतदाता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिएका हुन् ।

आइतबार राती भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगरेको जानकारी दिएका थिए ।
सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेको घोषणा गरे ।

प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् । प्रधानमन्त्री देउवालाई यसअघिको सरकारमा ओली पक्षका मन्त्री रहेका प्रेम आलेले समेत विश्वासको मत दिएका थिए ।

गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त भएका थिए । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।