५१ डिग्रीसम्म पुग्यो इराकमा तापक्रम, जनजीवन प्रभावित



काठमाडौं – इराकमा तापक्रम बढ्दा जनजीवन प्रभावित भएको छ । इराकका मध्य तथा दक्षिण प्रान्तहरुमा अकस्मात तापक्रम बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

त्यहाँका मौसम विद्हरुले तापक्रम कम्तीमा पनि ५१ डिग्री सेल्सियस पुगेको बताएका छन् । जसका कारण ती प्रान्तहरुमा निकै नै तातो हावा चलेको छ । यसबाट नागरिकमा स्वास्थ्यका गम्भीर समस्याहरु देखिन थालेका छन् ।

इराकको मौसम विभागले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा देशको दक्षिणी क्षेत्रको बासरा, क्वादिसान र मुथाना प्रान्तमा तापक्रम बढेर ५१ डिग्री सेल्सियससम्म पुगेको छ ।

राजधानी बगदादलगायतका अरु कैयौँ क्षेत्रको तापक्रम भने ५० डिग्री छ । यसरी देशव्यापी रुपमा तातो हावा चलेको छ । जसका कारण इराकको जनजीवन निकै नै प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सरकारी निकायले नागरिकलाई अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्किन र पर्याप्त मात्रामा झोल पदार्थको सेवन गर्न सार्वजनिक सूचना जारी गरेका छन् । तातो हावाका कारण बालबालिकामा निकै असर पर्न सक्ने देखिएको छ ।

जसले गर्दा देशका अधिकांश भूभागका विद्यालयहरु बन्द गरिएको छ भने देशव्यापी रुपमा नै विदा दिने तयारी भइरहेको छ । तातो हावाको असरबाट बच्न र नागरिकलाई आवश्यक सहयोग गर्न सरकारले विभिन्न कार्यक्रमहरु ल्याउने जनाएको छ । एजेन्सी