सैन्य ‘कू’ पछि सेनाले ४३ बच्चाको ज्यान लिएः सेभ द चिल्ड्रेन



नायपिटव – म्यानमारमा फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बच्चाको ज्यान गइसकेको छ ।

बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रेन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो स्थिति’ भएको बताएका छन् ।

मृत्यु हुने बच्चामध्ये एक ६ वर्षकी बालिका थिइन् । एक स्थानीय निगरानी समूहका अनुसार सैन्य कूपछि ज्यान गुमाउनेको कूल संख्या ५३६ रहेको छ ।

सेनाको कडाईः
म्यानमारमा सेनाले विरोधको व्यापक दमन गरिरहेको छ । यसैबीच म्यानमारमा संयुक्त राष्ट्रका दूतका अनुसार ‘यहाँ थप रगत बग्ने खतरा छ’ । यसैबीच सीमान्त इलाकामा सेना र जातीय अल्पसंख्यक समूहबीचको संघर्ष तीब्र हुँदै गएको छ ।

म्यानमारमा अशान्तिको सुरुवात करिब दुई महिना अघि भएको थियो । त्यतिबेला सेनाले चुनावमा धाँधलीको आरोप लगाउँदै सैन्य कू गरेको थियो । चुनावमा आङ सान सूचीका पार्टी एनएलडीले जबरजस्ती जीत हासिल गरेको आरोप लगाइएको थियो ।

सैन्य कू विरुद्ध हज्जारौं मानिसहरुले सडकमा उत्रिएर विरोध जाहिर गरे । सेनाले सुरुवातमा प्रदर्शनकारी रोक्नका लागि पानीको फोहोराको प्रयोग गरे । पछि रबरको गोली चलाइयो । त्यसपछि गोली नै चलाइयो ।

शनिबार सबैभन्दा जोडदार संघर्ष भयो । त्यस दिन सयभन्दा बढीको मृत्यु भयो । प्रत्यक्षदर्शीका अनुसार सेनाले सडकमा भएका मानिसहरुमाथि अचानक हमला गरे । केही मानिसहरुको मृत्यु उनीहरुको घरभित्रै भयो ।

हमलामा ज्यान गुमाउने ६ वर्षकी बालिका म्यो चितका परिवारले बीबीसीसँगको कुराकानीमा मार्च महिनाको अन्त्यमा मांडलेस्थित उनको घरमा छापा मारेको बताए । त्यस क्रममा बालिका आफ्नो पिता भएकाे ठाउँ दौडिएर काखमा बस्न जाँदा उनलाई प्रहरीले गोली हानेर हत्या गरे । बीबीसी