वेल्समाथि बेल्जियमको जीत, फ्रान्स र युक्रेनको बराबरी



काठमाडौं – फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटमा बेल्जियम विजयी भएको छ । बुधबार राति भएको छनौटको पहिलो खेलमा बेल्जियमले वेल्सलाई ३-१ गोलले पराजित गरेको छ ।

बेल्जियमले एक गोलले पछि परेको स्थिति उल्टाएर पुनरागमन जित निकालेको हो । बेल्जियमको जितमा केभिन डि ब्रुयना, थोर्गन हाजार्ड र रोमेलु लुकाकुले गोल गरे । वेल्सका ह्यारी विल्सनको गोल सान्त्वना बन्यो ।

जीतपछि समूह ‘ई’ मा बेल्जियमले ३ अंक जोडेको छ । पराजित वेल्स भने अंकविहिन छ । गएराति नै भएको अर्को खेलमा विश्वविजेता फ्रान्स र युक्रेनले १-१ गोलको बराबरी खेलेका छन् ।

फ्रान्सका लागि एन्टोइन ग्रिजमनले १९औं मिनेटमा गोल गरेका थिए भने युक्रेनले एक गोल उपहार पाएको थियो । बराबरीपछि फ्रान्स र युक्रेन दुवैले समूह ‘डि’ मा १-१ अंक जोडेका छन् ।