७० हजार पुरस्कार राशीकाे नकआउट फुटबल शुरु



चितवन – चितवनको माडीमा सोमबारदेखि होलीकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । गौरीशङ्कर युवा क्लब माडी–७ गौरीनगरको आयोजनामा सोमबारदेखि १९औँ अन्तर माडी होलीकप नकआउट फुटबल प्रतियोगिता २०७७ शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक गौरीशङ्कर युवा क्लब ‘सी’ ले हार व्यहोरेको छ । गौरीनगरस्थित खेल मैदानमा भएको खेलमा वसन्तपुर युनाइटेड क्लब ‘बी’ ले आयोजक गौरीशङ्कर युवा क्लब ‘सी’ लाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

वसन्तपुरको जीतमा सम्राट दराईले दुई तथा एबिन बस्याल, शिशिर सुनार र कृष्ण महतोले एक/एक गोल गरेका थिए। प्रतियोगिताअन्तर्गत आज तीन खेल सञ्चालन हुनेछन् । यसअघि प्रतियोगिताको माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालले उद्घाटन गरेका थिए ।

यस अवसरमा उनले खेलकूदको विकासका लागि माडीका क्लबहरुलाई नगरपालिकामार्फत आर्थिक, भौतिक र नैतिक सहयोग सदैव प्रदान गर्ने उल्लेख गरे । माडीका १७ टोलीको सहभागिता रहेको प्रतियोगिता विजेताले रु ७० हजार तथा उपविजेताले रु ३५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।