सुनकोशी गाउँपालिका कप-२०८३ सञ्चालन हुने, विजेताले तीन लाख ३३ हजार पाउने
ओखलढुङ्गा – ओखलढुङ्गाको सुन्कोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय मुलखर्कको आयोजनामा ‘सुनकोशी गाउँपालिका कप-२०८३’ (अन्तर-पालिका पुरुष फुटबल प्रतियोगिता) आयोजना हुने भएको छ।
‘संस्कृति, पर्यटन, कृषि र पूर्वाधार: समावेशी सुनकोशी समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले जनाएका छन् ।
गाउँपालिकाले सूचना जारी गर्दै सम्पूर्ण स्थानीय तह, खेलाडी तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। प्रतियोगिता आगामी २०८३ मंसीर २१ देखि २४ गतेसम्म सुनकोशी-५, ओखढुङ्गास्थित मुलखर्क खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले मंसीर १८ गतेसम्ममा आफ्नो दर्ता प्रक्रिया पूरा गरिसक्नुपर्नेछ। टिम दर्ताका लागि दर्ता शुल्क रु. १०,०००/-, बीमा शुल्क रु. १,०००/- र धरौटी बापत रु. २,०००/- निर्धारण गरिएको अधिकृत राईले बताए ।
यस ९ए साइड प्रतियोगिता अन्तर्राष्ट्रिय फिफा नियम अनुसार नक-आउट प्रणालीमा सञ्चालन गरिनेछ। प्रत्येक सहभागी टिममा १४ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना व्यवस्थापक गरी कुल १६ जनाको टोली रहनेछ।
प्रत्येक नगर वा गाउँपालिकाबाट १ टिम मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ भने खेलाडीहरू सम्बन्धित स्थानीय तहकै हुनुपर्नेछ। सहभागिताको लागि नगर वा गाउँपालिकाको आधिकारिक सिफारिस पत्रका साथै खेलाडीहरूको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ। प्रतियोगितासम्बन्धी अन्य थप नियमहरू खेल सुरु हुनुअघि तथा खेल सञ्चालन भइरहेको समयमा उपलब्ध गराइने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ। प्रतियोगिताको विजेता टिमले नगद रु. ३,३३,३३३/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु. १,७७,७७७/- सहित मेडल र प्रमाणपत्र पाउनेछ। त्यसैगरी सेमिफाइनलसम्म पुग्ने दुवै टिमलाई नगद रु. १,००,०००/- का दरले मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही नगद रु. १०,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत राईले जनाएका छन् ।
