‘बाबु-नानी ! भगवानलाई राम्रो मान्छे चाहिएको थियो, त्यसैले तिम्री आमालाई लग्नुभयो’
प्रकृतिको निष्ठुरी लिला र भोटेकोशी बाढीको अकल्पनीय बज्रपातले धेरै कोपिलाहरूलाई आमाको न्यानो काखबाट खोसेको छ। आमाको अभावमा हुर्कँदै गरेका तिनै अबोध बालबालिकाको बालमस्तिष्क, उनीहरूले भोगिरहेको रित्तोपन अनि भोलिको उज्यालो भविष्यका लागि, सहकर्मी तथा प्रिय बहिनी तेजस्वी अर्याल को दूई अबोध बच्चाहरूलाई भेटे पछि हृदयबाट फुटेको आत्मीय सान्त्वना र मार्गदर्शनको सानो प्रयास… जुन आज बाल दिवसको उपलक्ष्यमा तमाम बालबालिका प्रति समर्पित छ।
प्रिय बाबु र नानी,
धेरै-धेरै माया र आत्मीय आशीर्वाद!
आज जब म यो पत्र तिमीहरूलाई सम्बोधन गरेर लेखिरहेको छु, तिमीहरू अझै सानै छौ। अहिल्यै तिमीहरूले यो पत्र पढ्न र यसको गहिरो अर्थ बुझ्न सक्दैनौ। अहिल्यै तिमीहरूलाई यो संसारको कठोरता, समयको निष्ठुरीपन र तिमीहरूले आफ्नो जीवनमा गुमाएको अमूल्य सम्पत्तिको बारेमा पूर्ण ज्ञान छैन। अनि मैले पनि तिमीहरूलाई खुलेर भन्न पनि सक्दिनँ तिम्री आमा, मेरो प्यारी बहिनीलाई के भयो, उनी कता गइन् र तिमीहरूलाई बुझ्ने गरी अहिल्यै कसरी बताऊँ।
तिमीहरूलाई केवल यति मात्र लागिरहेको होला “हाम्री आमा कता जानुभएछ? किन यति दिनसम्म घर नआउनुभएको होला?”
तिम्री आमा घर नआउनुभएको आज ठ्याक्कै १९ दिन भएछ। एक दिन आमाले तिमीहरूलाई छोडेर मामाघर आउँदा पनि तिमीहरूले फोन गरेर “आमा, छिट्टै घर आउनुस्, मामा आमालाई छिट्टै पठाइदिनुस्” भनेर मलाई भन्थ्यौ। त्यति मात्र होइन, आमा दिनभरिका लागि काममा जाँदा र साँझ अलि ढिला हुँदा पनि “छिट्टै आउनु” भनेर सताउँथ्यौ। आज यति धेरै दिन भइसक्यो तिमीहरूले आमालाई देखेका छैनौ। पक्कै फोन गर्यौ होला, आमाका मिल्ने संगीहरूलाई पनि पटक-पटक सोध्यौ होला। मसँग पनि पटक-पटक सोध्यौ, तर मैले खुलेर गतिलो जवाफ दिएर तिम्रो बाल मनस्थिति बुझ्ने उत्तर दिन सकिनँ होला। घरको कुनामा तिमीहरू रिसाउँदा तिमीहरूकी आमा लुक्ने ठाउँमा पनि पटक-पटक हेर्यौ होला। “छिट्टै घर आऊ आमा” भन्दै खुट्टा बजारेर बालापनले आँसु झार्दै रोयौ होला।
मनमा कति बेचैनी होला, आँखाहरूले कति प्रतीक्षा गरिरहेका होलान् “खोई त हाम्री आमा?”
तिमीहरू रुँदै भन्दै होलाउ “छुच्ची आमा, कता गएकी? छिट्टै आऊ।” भन्दै र सोच्दै छौ होला “आमा छिट्टै घर आऊ, तिमीले भनेको मान्छु, चकचक गर्दिनँ, ज्ञानी हुन्छु, धेरै पढ्छु, भात पनि नफ्याली खान्छु, स्कुलको गह्रौँ झोला तिमीलाई बोकाउँदिनँ आफैँ बोक्छु, हाटबजार जाँदा चकलेट, बिस्कुट, जिलेबी किनिदेऊ भनेर सताउँदिनँ, तर छिट्टै आऊ…” तर पनि यतिका दिन भइसक्यो, आमा आउनुभएको छैन।
तिमीहरूले मनभित्र खोज्दैछौ आखिर हाम्री आमा खोई? कतै बाटो बिग्रेर घर आउन पाउनु पो भएन कि? कतै ठूलो पानीले पो रोक्यो कि? कतै बाढीले सतायो कि?तिम्रो बालमस्तिष्कले यस्तै यस्तै सोचेको छ। तिमीहरूलाई अहिले आफ्नो आमाको त्यो पसिनाको गन्ध र मातृवात्सल्यता चाहिएको छ।
अहिले तिमीहरूको बाल्यकालमा आमा नहुनुको पीडा र समस्या कति भारी छ, त्यो शब्दमा भन्न सकिन्न। अरू बच्चाहरूलाई उनीहरूकी आमाले बिहानै उठेर माया गर्दै कपाल कोरिदिँदा, तिमीहरू खोज्छौ खोई हाम्री आमा? अरूका आमाले हात समाएर, माया गर्दै स्कुल लैजाँदा, टिफिन र कापीले भरिएको त्यो गहुङ्गो झोला बोकेर स्कुल पुर्याइदिने आमा नहुँदा तिमीहरूको सानो मन कसरी रोएको होला? स्कुलबाट धुलोमैलो बनेर आउँदा नरिसाई कपडा फेरिदिने, चोटपटक बोकेर आउँदा प्रेम मिसिएको स्वरले हप्काउँदै र खोस्रिएको घाउमा मलम लगाइदिने ती आमालाई तिमीहरूले पटक पटक खोजेका छौ। सोध्छौ “खोई त आमा?” अनि कसैबाट पनि स्पष्ट जवाफ पाउँदैनौ। साँझ परेपछि सिरकभित्र आमाको न्यानो छातीमा टाउको लुकाएर मीठो कथा सुन्दै सुत्न नपाउनुको यो खालीपन र अभाव तिमीहरूका लागि अति नै दर्दनाक छ।
उमेर बढ्दै जाँदा मनभित्र मीठो-मीठो खान मन लाग्दा वा राम्रो लुगा लगाउन मन लाग्दा “आमा भएको भए किनिदिनुहुन्थ्यो” भनेर मन अमिलो होला। अरूका आमाले उनीहरूलाई सिँगारेर हिँडाएको देख्दा “हाम्री आमा नभएर नै यस्तो भएको हो” भन्ने सोच आएर आँखा रसाउलान्। तर त्यो बेला पनि आफूलाई दह्रो बनाएर सम्हाल्नु। तिमीहरूकी आमा एक्लै सबै जिम्मेवारी सम्हाल्न सक्ने ‘वान म्यान आर्मी’ जस्तै थिइन्, जस्तोसुकै कठिन समस्यामा पनि मुस्कुराउँदै जुध्थिन्। तिमीहरू पनि आफ्नी आमाजस्तै उस्तै स्वाभिमानी, बलियो र जुझारू बन्नु।
अझ प्रिय नानी,
तिमी त छोरी मान्छे हौ। हुर्कँदै जाँदा तिम्रो शरीरमा आउने प्राकृतिक परिवर्तनहरू ‘यो शारीरिक परिवर्तन किन भयो?’, ‘यो महिनावारी (पीरियड्स) भनेको के हो?’, ‘किन पेट दुखिरहेको छ?’ जस्ता कुराहरूले तिमीलाई पिरोल्न सक्छ, मनमा सङ्कोच वा डर पैदा हुन सक्छ। तर त्यो बेलामा अत्तालिनु पर्दैन। यी सब कुराहरू बिस्तारै पढ्दै, बुझ्दै र सिक्दै जानु। कुनै कुरा बुझ्न वा सम्हाल्न अप्ठ्यारो परेमा नहिचकिचाई, नडराई सीधा बाबालाई सोध्नु र बाबासँग आफ्ना कुरा सेयर गर्नु। आमाको जस्तै माया दिएर हुर्काउने प्यारा बाबा र घरका मान्यजनहरू आमाका साथी संगी सधैँ तिमीहरूको साथमा हुनुहुन्छ।अनि यति पर भए पनि तिम्रो मामा छु मलाई सोध्नु।
प्रिय नानी बाबु,
अहिलेलाई तिमीहरू यति मात्र बुझ अनि म पनि यो पत्रमार्फत यति मात्र भन्न सक्छु आमा घरमा नआएको बारेमा, भगवान्को घरमा एकजना अति नै असल मान्छेको खाँचो परेछ। अनि उहाँले यस धर्तीमा हेर्दै छान्दै जाँदा तिमीहरूकी आमा अति नै असल र योग्य लागेछ। अनि तिमीहरूकी आमालाई भगवान्ले उतै बोलाउनुभएको रहेछ। अहिले आमा उही पर भगवान्कै घरमा छिन्। साँझ परेका बेला घरको आँगनमा उभिएर बाबाको हात समाएर माथि हेर्नू त्यहाँ पर आकाशमा जुन सबैभन्दा चम्किलो र उज्यालो तारा देख्नेछौ, त्यो अरू कोही होइन, तिमीहरूकै प्यारी आमा हुन्।
वर्षौँपछि जब तिमीहरू ठूला हुनेछौ, यो पत्र पढ्नेछौ र सबै यथार्थ बुझ्दै जानेछौ अनि यो पत्रको पनि अर्थ बुझ्नेछौ, तब मामाले भनेका यी कुराहरू सजिलै बुझ्नेछौ। तर आज म तिमीहरूलाई त्यो महान् नारीका बारेमा भन्दैछु, जसले तिमीहरूलाई यो सुन्दर संसार देखाइन् र जसको रगत पसिनाले तिमीहरूको बाल्यकाल सिञ्चित भयो तिमीहरूको प्यारी आमा ” तेजस्वी देवी”।
हामी एउटै ठाउँमा सँगै काम गर्थ्यौँ। उनी मलाई “दाइ” भनेर बोलाउँथिन् र म उनलाई आफ्नै सहोदर बहिनी मान्थेँ; उत्तिकै माया र भरपर्दो विश्वास गर्थेँ। सिकाउँथे, सम्झाउँथे। हामी एकै कोखका जस्तै थियौँ, अनि त म तिमीहरूको मामा बनेँ।मैले खाए नखाएको म दुखी भएको नभएको तिम्री आमाले एक पटकमा चाल पाउथिन् अनि खाएको छैन भने झोला बाट एउटा मिठाई भए पनि गाली गरी गरी खानुस भन्थिन्।म हरेक पटक अनेक अबस्थाका कारण टुटेको बेला थाकेको बेला तिम्रो आमाले सधै ‘दाई हिम्मत नहार्नुस्’ ‘फलामको ढोका बन्द भए पनि सुनको ढोका खुल्ला छ’ भनेर ढाढस दिन्थिन्। तिमीहरूको आमाको यो बानी सबै संग उस्तै आत्मीय थियो। भरोसा योग्य थियो।
आज म तिमीहरूलाई गर्वका साथ भन्न चाहन्छु तिमीहरूकी आमा, मेरी त्यो प्यारी बहिनी यो संसारकै सबैभन्दा असल, मिहिनेती, सुशील, ज्ञानी र सुन्दर हृदयकी धनी थिइन्। जस्तो नाम थियो, उस्तै उज्यालो, तेजस्वी र अनुकरणीय व्यक्तित्व थियो तिमीहरूको आमाको।
भोलि ठूला भएर आफ्नी आमा कस्तो हुनुहुन्थ्यो भनेर जान्न मन भयो भने यी कुराहरू सधैँ याद राख्नु: मेरी बहिनी काम भनेपछि कहिल्यै पछि नहट्ने, अत्यन्त लगनशील थिइन्। उनी भाग्यमा भन्दा आफ्नै पसिना र कर्ममा विश्वास गर्थिन्। कठिनभन्दा कठिन काम पनि उनी एक्लै हिम्मतका साथ सम्पन्न गर्न सक्ने बलियो थिइन्। उनी अलि अन्तरमुखी र शान्त स्वभावकी थिइन् कसैसँग रिसराग नगर्ने, कसैको चित्त नदुखाउने उनको बानी थियो। जस्तोसुकै ठूलो पीडा वा थकानलाई पनि मुस्कुराएर छातीभित्रै सहने अद्भुत सहनशीलता मेरी बहिनीमा थियो। उनलाई नयाँ कुराहरू सिक्न, पढ्न र ज्ञान हासिल गर्न साह्रै मन पर्थ्यो।
गाउँमा बसेर घाँस-दाउरा गर्दा होस् या सहरको जीवनमा; छोरी, आमा, बुहारी वा श्रीमतीको रूपमा होस् तिम्री आमा एक पूर्ण नारी थिइन्। मैले तिम्री आमालाई कहिल्यै पनि महँगा फेसन वा महँगा सौन्दर्यका साधनमा देखिनँ, उनी सधैँ साधारण, सभ्य र अनुशासित थिइन्। उनको रूप जति सुन्दर थियो, त्योभन्दा कयौँ गुणा सुन्दर उनको मन थियो। उनको बोलिचालीमा नम्रता र व्यवहारमा आत्मीयता छलकिन्थ्यो। नामले नै तिमीहरूको आमाको सम्पूर्ण बयान गर्थ्यो। तिमीहरूलाई थाहा छ? तिमीहरूको आमालाई तातो दूधचिया निकै मन पर्थ्यो अनि खानेकुरा जे भए पनि मिठो मानी मानी थपी थपी र सबैलाई बाँडेर खाने बानी थियो।
तिमीहरूलाई तिम्रो आमाले किनिदिनुभएको त्यो सानो प्लास्टिकको डोजर छ नि? त्यो डोजरले जसरी सय जना मान्छेले गर्ने काम एकैपटक गर्छ, तिमीहरूको आमा पनि उस्तै थिइन् घर, अफिस र सबै काम एक्लै सम्हाल्न सक्ने, अरूलाई सहयोग गर्ने र कामधन्दा क्षणभरमै सकाउने।
अनि अर्को कुरा पनि बुझिराख्नु आमाले तिमीहरूका हजुरबुबा हजुरआमालाई धेरै माया र सम्मान गर्थिन्। त्यस्तै बाबालाई पनि अति नै विश्वास गर्ने र मनका सबै कुरा सेयर गर्ने गर्थिन्। छर-छिमेक, साथीभाइ, पाहुना पाछा सबैसबैसित उनको अति राम्रो सम्बन्ध थियो। यदि कसैले “आमा, श्रीमती, बुहारी, छोरी वा साथी कस्तो हुनुपर्छ?” भनेर सोध्यो भने, तिमीहरूको आमालाई लगेर देखाइदिए पुग्थ्यो यस्तो हुनु पर्छ भनेर।
हुन त तिमीहरूको आमा खासै तनाव लिने मान्छे त थिइनन्, र आफूलाई परेको तनाव अरूलाई देखाउने बानी पनि थिएन। तर कहिलेकाहीँ अति नै भएपछि मन हलुका बनाउन हल्का रुँदै मलाई केही कुरा सेयर गर्थिन् अनि भन्थिन् “भो छोडिदिऊँ दाइ, अरूले दिएको तनाव लिएर फेरि किन आफैँ तनाव लिनु?” अनि आफ्नो मनलाई आफैँ सम्झाउँथिन्।
यति बुझ्नु कि तिमीहरूको आमा एक पूर्ण नारी थिइन्। जसको उपस्थितिमा नै एउटा अद्भुत शक्ति र सकारात्मक ऊर्जाको आभास हुन्थ्यो। उनीभित्र अनवरत खट्न सक्ने अथाह मेहनत, कार्यप्रतिको अचम्मको कर्तव्यनिष्ठा र हरेक चुनौतीलाई सहजै सामना गर्न सक्ने अद्वितीय क्षमता थियो। बाहिरबाट चट्टानजस्तै दृढ र साहसी देखिने उनीभित्र मातृत्वको यस्तो विशाल सागर छाएको थियो, जसको न्यानो वात्सल्यता र ममताले जो-कोहीलाई पनि ओत प्रदान गर्थ्यो। संकटको समयमा कसैको सहारा बनेर उभिने उनको सुझबुझ र करुणा नै उनको वास्तविक पहिचान थियो। उनी सृष्टिलाई जीवन र न्यानो माया दिने ममताकी खानी एवम् कर्तव्यको मार्गमा कहिल्यै विचलित नहुने एउटा आदर्श र प्रेरणादायी स्वरूप थिइन्।
तिमीहरूलाई माया दिने, दूध खुवाउने, घुमाउन लैजाने, पौडी सिकाउने र साइकल किनिदिने आमा कति प्यारी थिइन्, त्यो त तिमीहरूलाई झन् राम्ररी थाहा छ नि है?
प्यारा बाबु-नानी, मेरो बहिनीका अनमोल नासोहरू!
तिमीहरूलाई मनमा लागिरहेकै होला हाम्री आमा किन र कसरी भगवान्को घरमा गइन्? फेरि पनि भन्छु, अहिले यति बुझ भगवान्लाई उहाँमाथि एउटा सच्चा र इमानदार मान्छे चाहिएछ अनि बोलाउनुभएको हो। तर यति असल मान्छे त यहाँ पृथ्वीमा पनि चाहिएको थियो। “किन मेरै आमा?” भन्ने लाग्ला, मैले माथि नै भनिसकेँ नि भगवान्ले असलहरूमध्येबाट पनि अझ असल छानेर लैजानुभएको हो।
अब सुन, कसरी लैजानुभयो भगवान्ले तिमीहरूको आमालाई। तिम्रो आमा सधैँजसो बिहानै उठ्थिन्। उठेर नुहाई-धुवाई, कोरीबाटी गरेर आफूलाई मनपर्ने दूधचिया खाइन् अनि यात्राका लागि झोला कसेर बसेकी थिइन्। समय बिहान ९ बजेिसकेको थियो अनि मिति २०८३ साल भदौ १० गते। अचानक रसुवा जिल्लाको अग्लो न अग्लो लाङ्टाङ हिमालनजिकै ठूलो पहिरो खसेछ, ताल फुटेछ। हिउँ नै हिउँ अनि चट्टानै चट्टान बगेर भोटेकोशी नदीमा मिसिएछ। भोटेकोशी नदी कालीनाग जस्तै बेरिएर रौद्र बनेर आयो। घर, बाटो, पुल-पुलेसा अनि तिमीहरूले बच्चामा खेल्दा देखेको जस्तै साँच्चिकैका गाडी, डोजर, ट्रक बगाएछ्। तिमीहरूको आमालाई भोटेकोशी रौद्र रूपमा आएको निकै ढिलो गरेर थाह भएछ्। तिमीहरूको आमा अब निस्कन्छु भन्दा भन्दै सधै जस्तो साहसिक बन्दा बन्दै पनि धेरै जनाका बाबाहरू र तिमीहरूको आमालाई पनि आफ्नै भेलभित्र हालेर भगवान्कोमा लिएर गएछ।
हो त्यो कालो दिन त्रिशूली र बहुलाएको भोटेकोशी अति ठूलो विनाशकारी बाढी बनेर आयो अनि मेरी प्यारी बहिनीलाई, तिमीहरूको प्यारी आमालाई हामीबाट सधैँका लागि लग्यो। तिमीहरूको आमा आज भौतिक रूपमा हामीमाझ छैनन्, तर उनले छाडेर गएका असल कामहरू, मिहिनेत र उनको आत्मीयता आज पनि रसुवाको माटोमा, तिमीहरूको घरको भित्ता-भित्तामा अनि हामी सबैको हृदयमा जीवितै छ।
प्यारा बाबु नानी,
जीवनमा कहिल्यै आफूलाई एक्लो वा कमजोर नठान्नु। आमाले माथिबाट तिमीहरूलाई पल-पल हेरिरहेकी छिन् कति बेला खायौ खाएनौ, रोयौ कि, पढ्यौ कि पढेनौ, बाबालाई धेरै दुःख दियौ कि, वा चकचक गरेर चोट पो लाग्यो कि! बदमासी पो भयौ कि! आमाले तिमीहरूलाई नियालिरहेकी छिन्। त्यसैले धेरै ज्ञानी बन्नु, मान्यजन र अभिभावकले भनेको मान्नु। बाबालाई आमाले तिमीहरूलाई हुर्काउनु, बढाउनु, पढाउनु र ज्ञानी बनाउनु भनेर सुम्पिएर गएकी हुन्।
तिमीहरू पटक्कै एक्ला छैनौ तिमीहरूको आमाको हाँसो, बोली, चञ्चलता र ज्ञानी स्वभाव सबै तिमीहरूकै नसा-नसामा बगिरहेको छ। तिमीहरूको नसामा त्यस्ती वीराङ्गना, मिहिनेती र स्वाभिमानी आमाको रगत छ। अनि तिमीहरूलाई कहिले घोडा बनेर खेलाउने, कहिले बच्चा बनेर साथ दिने, नयाँ-नयाँ नाना किनिदिने तिमीहरूका प्यारा बाबा सँगै हुनुहुन्छ। तिमीहरू एक्लो छैनौ, उनको असलपन तिमीहरूसँगै छ।
अब तिमीहरू आमाले देखाएको मिहिनेत र लगनशीलताको बाटोमा हिँड्नु। आमाले जस्तै अध्ययनलाई माया गर्नु, नम्र बन्नु र सधैँ असल मान्छे बन्नु। घर, अफिस वा कलेज जिम्मेवारी जेसुकै परे पनि आमा एक्लै सम्हाल्न सक्ने ‘वान म्यान आर्मी’ जस्तै थिइन्, तिमीहरू पनि त्यस्तै बन्नु। तिमीहरूको प्रगति र सफलतामा नै तिमीहरूकी आमाले भगवानको घरमा बसेर हेर्दा पाउने साँचो शान्ति र गर्व महसुस गर्नेछ। धेरै पढ्नु, निरोगी हुनु र सबैलाई आमाले जस्तै मान-सम्मान गर्नु। संस्कारी बन्नु, अनुशासित हुनु र ठूलोभन्दा पनि असल मान्छे बन्नु।
म तिमीहरूसँग सधैँ नजिक हुन सकूँला वा नसकूँला, तिमीहरूले यो पत्र बुझ्ने बेलासम्म म कहाँ हुम्ला तर म जहाँ भए पनि तिमीहरूको अभिभावक बनेर माया र आशीर्वाद शुभेच्छा दिइरहनेछु। जब-जब तिमीहरूलाई आमाको कमी महसुस हुन्छ, त्यो बेला बाबालाई साथैमा राखेर यो पत्र एकपटक पढ्नु अनि आफूलाई आमा जस्तै असल, ज्ञानी र संस्कारी साहसिक बनाएर आमालाई आफ्नै मनभित्र पाउनु। आमा कतै गएकी छैनन्, भलै भगवान्को घरमा छिन् तर उनी तिमीहरूकै हृदयमा छिन्, वरपर नै छिन्।
प्यारा बाबु-नानी, यो पत्र पढ्दै गर्दा तिमीहरूले बुझिसक्यौ होला अब तिमीहरूको काँधमा निकै ठूलो जिम्मेवारी छ। आमाको सपना पूरा गर्नुछ। आमालाई तिमीहरूलाई धेरै र अति संस्कारी शिक्षा दिनु थियो, अनि त खाई-नखाई राम्रो स्कुल पढाइन्। त्यसैले आमाको सपना पूरा गर्न तिमीहरूले धेरै पढ्नुछ। आमा चाहन्थिन् तिमीहरू दुवै जना अनुशासित बन, आपसमा अति मिल, बाबा, हजुरबुबा र हजुरआमा अनि घरका सबैलाई माया र सम्मान गर। सबैको अगाडि आमा जस्तै शिर निहुर्याएर संस्कारी बन। अनि आमा यो पनि चाहन्थिन् तिमीहरू निडर बन, अन्याय नसहने, गलतलाई कहिल्यै साथ नदिने, झूटो नबोल्ने र अरूको कुभलो सोच्नेलाई तह लगाउने बन। तिमीहरू मिलेर तिमीहरूको आमाको सपना पूरा गर्नु अनि आमाको नाम जस्तै जीवनमा ‘तेजस्वी देवी’ बन्नु।
प्यारा बाबु नानी, आफ्नी आमाको आदर्शलाई सधैँ शिरमा राखेर अघि बढ्नु।
तिमीहरूलाई सधैँ माया गर्ने,
तिमीहरूको मामा
(भोटेकोशी बाढीमा आमा गुमाएका तमाम बालबालिका र ती साहसिक आमाहरूप्रति बाल दिवसको उपलक्ष्यमा समर्पित)
