नेपाली कांग्रेसको समानुपातिक सूचीमा माया रानाको नाम सिफारिस
स्याङ्जा । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–३, बिर्घाकी माया रानाको नाम नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार सूचीमा सिफारिस भई निर्वाचन आयोगमा पठाइएको छ।
रानाले २०४७ सालमा जनता माध्यमिक विद्यालय, बिर्घाको नेविसंघ इकाइ सभापतिका रूपमा राजनीतिक यात्रा सुरु गरेकी हुन्। २०४९ सालमा नेविसंघ स्याङ्जा जिल्ला सदस्य रहेकी उनी २०५२ सालमा क्षेत्र नं. ३ की क्षेत्रीय सभापति बन्न सफल भइन्।
त्यसपछि उनले तरुण दल स्याङ्जा जिल्ला सदस्य तथा नेपाल महिला संघ जिल्ला सदस्यका रूपमा सक्रिय भूमिका निर्वाह गरिन्। नेपाली कांग्रेसको ११औँ महाधिवेशनदेखि निरन्तर रूपमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यको जिम्मेवारी सम्हाल्दै आएकी राना २०६४ सालमा समानुपातिक उम्मेदवारसमेत बनेकी थिइन्।
२०६५ सालमा मगर संघको केन्द्रीय सदस्य रहेकी राना २०७३ सालमा नेपाल महिला संघको निर्वाचित केन्द्रीय सदस्यमा चयन भइन्। २०७४ सालमा गण्डकी प्रदेशसभाको समानुपातिक उम्मेदवार रहेकी उनले २०७९ सालमा कालीगण्डकी गाउँपालिकाको अध्यक्ष पदमा समेत उम्मेदवारी दिएकी थिइन्।
लामो समयदेखि पार्टी संगठन निर्माण, महिला सशक्तीकरण र समावेशी राजनीतिमा सक्रिय योगदान पुर्याउँदै आएकी रानाको योगदानको कदर गर्दै यसपटक नेपाली कांग्रेसले उनलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको जनाएको छ।
यद्यपि बन्द सूचीमा नाम परे पनि पार्टी पंक्तिभित्र न्याय र प्राथमिकता कसरी सुनिश्चित हुन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ। यसले पार्टीभित्रको समावेशी अभ्यास कत्तिको व्यवहारिक रूपमा कार्यान्वयन हुन्छ भन्ने प्रश्नलाई अझ चासोका साथ हेरिएको छ।
