रास्वपालाई ३ महिनाभित्र खाली गर्न घरधनीको ताकेता, १० महिनाको ३५ लाख तिर्न बाँकी

काठमाडौं । १० महिनादेखि भाडा नतिरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई घरबेटीले घर खाली गरिदिन आग्रह गरेका छन् । रास्वपाको बनस्थलीस्थित केन्द्रीय कार्यालय रहेको भवन तीन महिनाभित्र खाली गरिदिन घरधनी भरतमणि देवकोटाले आग्रह गरेका हुन् ।

अमेरिकामा रहेका देवकोटाले १० महिनादेखि घरभाडा नतिरेपछि घर खालिगरिदिनका लागि अनुरोध गरेको जनाइएको छ ।

साथै घरबेटी देवकोटाले पार्टीका लागि सापट दिएको रकम पनि नपाएको गुनासो गरेको जनाइएको छ । यसबाट रवि जेल गएसँगै रास्वपा आर्थिक संकटमा परेको पुष्टी भएको छ ।

देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो । जसअनुसार रास्वपाले घरभाडाबापत ३५ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ ।

स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।

रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेल परेका छन् । त्यसपछि कार्यबहाक सभापतिको जिम्मेवारी डीपी अर्यालले लिएका छन् । सहकारीकाण्डमा जेल परेका सभापति लामिछानेलाई छुटाउन भन्दै हस्ताक्षरसहित रकम उठाएको रास्वपाले घरभाडा भने नतिरेको पाइएको हो । त्यस्तै घरबेटी देवकोटाले ठूलै रकम पार्टीलाई सापट दिएको र उक्त रकम पनि नपाएको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *