कलंकी र बाफल प्रहरी बिटलाई समाजसेवी र लायन्स क्लबहरूको सहयोग
काठमाडौं । हालैको जिएनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते कलंकीस्थित प्रहरी बिटमा आगजनी हुँदा सम्पूर्ण भौतिक संरचना र सामग्री नष्ट भएका थिए। प्रहरी चौकी क्षतिग्रस्त भएपछि त्यहाँ कार्यरत प्रहरी असहज अवस्थामा रहन बाध्य भएका थिए।
यस्तो विपतपूर्ण अवस्थामा स्थानीय समाजसेवी र विभिन्न लायन्स क्लबहरू अगाडि आएर सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। लायन्स क्लब अफ काठमाडौं हाइभिजन, लायन्स क्लब अफ काठमाडौं कालिका सर्भिस, लायन्स क्लब अफ काठमाडौं गौरीशंकर र लायन्स क्लब अफ काठमाडौं अपेक्षा बाटिका लगायतका क्लबहरूले तत्काल प्रयोग गर्न मिल्ने खाद्यान्न, भान्साजन्य सामग्री, लत्ताकपडा र खाना पकाउने ग्याससम्म प्रहरीलाई हस्तान्तरण गरेका छन्।
सहयोग कार्यक्रममा सहभागी समाजसेवीहरूले भने, “प्रहरी हाम्रै दाजुभाइ हुन्। विपद् र संकटमा उनीहरूले सधैं हामीलाई साथ दिएका छन्। अहिले उनीहरू कठिनाइमा छन्, त्यसैले सहयोग गर्नु हाम्रो कर्तव्य हो।”
स्थानीयवासीका अनुसार यस्तो सहयोगले प्रहरीको दैनिक जीवन सहज बनाउन मात्र होइन, शान्ति–सुरक्षाको निरन्तरता कायम राख्न पनि ठूलो टेवा पुगेको छ। यस कदमले प्रहरीको मनोबल बढाउनुका साथै समुदायमा आपसी विश्वास र सहकार्यलाई थप बलियो बनाएको जनाइएको छ।
सहयोग पाएपछि प्रहरी दाजुभाइहरूले समाजसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले स्थानीय समुदायसँग मिलेर विसंगति, अपराध तथा हिंसात्मक गतिविधिविरुद्ध अभियान सञ्चालन गर्ने प्रणसमेत गरेका छन्।


