सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने चर्चामा को–को?

काठमाडौं । जेनजी पुस्ताले गरेको छोटो आन्दोलनले देशमा ठूलो परिवर्तन भएको छ । पहिलो महिला प्रधानन्यायाधीशको इतिहास बनाएकी सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्री बनिसकेकी छिन् ।

जेनजी आन्दोलनको प्रस्तावमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहको समर्थनमा उनले नेपालको अन्तिम सरकारकी प्रधानमन्त्री बनेकी छिन् । शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथ लिएसँगै कार्कीले औपचारिक रुपमा सरकार प्रमुखको जिम्मेवारी सम्हालेकी छिन् ।

प्रधानमन्त्री कार्कीले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरिसकेकी छिन् भने त्यसभन्दा अगाडि प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरि संसद विघटन भइसकेको अवस्था छ ।

संसद् विघटन भएपनि कार्की सरकारमा मन्त्रीमण्डलको विस्तार भने शुक्रबार हुन सकेन । शनिबार कार्की जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई भेट्नका लागि अस्पतालहरुमा पुगेकी थिइन् । त्यस्तै कतिपय आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरी कार्यालयका साथै भौतिक संरचनाहरुको अवलोकन गरेकी थिइन् ।

स्रोतका अनुसार कार्कीले आइतबार मन्त्रीमण्डल विस्तार गर्ने भएकी छिन् । कार्की सरकारमा ओम प्रकाश अर्याल, कुलमान घिसिङ, सुधन गुरुङको टुंगो लागिसकेको जनाइए पनि गुरुङले आफूहरु सरकारमा नजाने बताएका छन् । अर्याललाई कानुन मन्त्री, घिसिङलाई उर्जामन्त्री दिइने सम्भावना छ । गुरुङले कार्की नेतृत्वको सरकारमा अनुभवी र विज्ञका साथै मुलुकका स्वच्छ छविका व्यक्तिहरुलाई मात्र पठाइने जनाएका छन् ।

त्यस्तै गृहमन्त्रीमा रमेश खरेललाई बनाउने तयारी पनि प्रधानमन्त्री कार्कीको छ । त्यस्तै पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्रालयको जिम्मेवारी दिने चर्चा चलेको छ । त्यस्तै डा. सन्दुक रुइतको पनि सम्भावना रहेको स्रोतले जनाएको छ ।

त्यस्तै पूर्व जर्नेल बालानन्द शर्मालाई पनि मन्त्रीमण्डलमा समेट्ने सम्भावना रहेको छ । तर, स्रोतका अनुसार शर्माले मन्त्री बन्नका लागि रुची भने देखाएका छैनन् । तर मुलुकलाई संकट परेका पटकपटक जिम्मेवारी लिँदै आफ्नो जिम्मेवारीलाई पूर्ण सफल बनाएको हुनाले यदि उनी मन्त्रीमण्डलमा समावेश भएमा मुलुकका लागि हित हुनेमा विश्वस्त हुन सकिन्छ ।

तर, सरकारमा जानका लागि जेन्जी समूह, प्रधानमन्त्री कार्की र काठमाडौं महानगरपालिकाका मेयरलगायतको निर्णय नै अन्तिम निर्णय हुने विश्वास गरिएको छ । त्यसैले माथिका नामहरू पछिल्लो समय चर्चामा सुनिएका नामहरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *