‘जेन–जी’को समर्थनमा मेयर बालेनदेखि युट्युबर सुरक्षा केसीसम्म

काठमाडौं । ‘जेन–जी’ पुस्ताले आजका लागि आन्दोलन घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रदर्शनका लागि अनुमति लिएर आन्दोलनको घोषणा गरेका यो पुस्तालाई धेरै नेता तथा सेलिब्रेटीहरूले समर्थन गरेका छन् । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सोमबार जेन-जी पुस्ताले माइतिघरदेखि नयाँ बानेश्वसम्म प्रर्दशन गर्दैछन् ।

उनीहरूको प्रर्द्शनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समर्थन गरेका छन् । मेयर शाहले जेन–जी पुस्ताले देशभर गर्ने आन्दोलनमा आफ्नो भरपुर समर्थन रहेको बताएका छन् । उनले उमेर हदको कारण सो आन्दोलनमा आफू जान नमिले पनि आफूलाई जेन–जी पुस्ताको कुरा बुझ्न जरुरी रहेको र सो आन्दोलनमा भरपुर समर्थन रहेको बताएका हुन् ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङले समर्थन जनाएका छन्। उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जेन-जीले निकाल्ने जुलुसमा ऐक्यवद्धता जनाएका हुन्।

त्यस्तै नायिका स्वस्तिमा खड्काले पनि आफूले पनि जेन–जीको साथमा रहेको जनाउँदै शान्तिपूर्ण आन्दोलनको कामना गरेकी छिन् ।

त्यस्तै युट्युबर सुरक्षा केसीले पनि आफू हाल विदेशमा रहेको जनाउँदै नेपालमा जेन–जी पुस्ताले गरेको आन्दोलनको पूर्ण समर्थनको कामना गरेकी छिन् । उनले लेखेकी छिन्, देशको भविष्यका लागि उठेका हरेक न्यायपूर्ण आवाजसँग म छुँ । भोलि अर्थात सेप्टेम्बर ८ मा नेपालका जेन जी युवाहरूले आफ्नो स्वतन्त्रता, समान अवसर र पारदर्शिता माग्दै आन्दोलन गरिरहेका छन । चाहे त्यो सोशल मिडिया स्वतन्त्रताको सवाल होस् वा “नेपो–किड” संस्कृति विरुद्धको आवाज।
परिवर्तन अब रोकिदैन , यो आन्दोलनले नयाँ युगको सुरुवात गर्ने छ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उक्त आन्दोलनको समर्थन गरेको सामाजिक सञ्जालमार्फत् जनाएका छन् । उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ।’

त्यस्तै, निर्देशक निस्चल बस्नेतले ‘आफू जेन—जीको साथमा रहेको’ बताउँदै टिकटक भिडियो सार्वजनिक गरेका छन् । उनले सामाजिक संजाल बन्द गर्ने सरकारको कदमको विरोध गरेका छन् ।

निश्चलले देशको कानून निसहाय र गरिब जनताको लागि मात्र लागू भएको जनाएका छन् । जेन-जीको युवापुस्ता भ्रष्टाचारलाई लिएर निराश रहेको उल्लेख गर्दै आन्दोलन हुनु नै थियो भनेका छन् । आफू जेन-जी आन्दोलनमा सहभागी भएर भ्रष्टाचारविरुद्ध बोल्ने समेत निश्चलले बताएका छन् ।

यता, अभिनेता पल शाहले पनि अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक बन्द गर्ने निर्णयले स्थिती झन् गम्भीर बनाएको भन्दै जेन-जी आन्दोलनलाई समर्थन जनाएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जीहरूलाई आग्रह गरेका छन् ।

त्यस्तै अभिनेता अनमोल केसी, गायक प्रकाश सपूत, हलमा चलिरहेको चलचित्र मोहरका टिम लगायत थुप्रैले समर्थन गरेका छन् । मोहरका टिम र प्रकाश सपुतले खानेपानीको व्यवस्था गर्ने निकट स्रोतले जनाएको छ । अम्रित गुरुङको नेपथ्य ब्याण्ड, गायिका रचना रिमाल, एलिना चौहान र प्रफमर तथा गायक दुर्गेस थापा लगायत थुप्रै सेलिब्रेटीले समर्थन गरेका छन् ।

नातावाद, भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्धबिरुद्ध जेन-जीले घोषणा गरेको देशव्यापी आन्दोलनमा सत्तारूढसहित विपक्षी दलहरूले भने केही बोलेका छैनन् । रास्वपाका कतिपय नेताहरू यसको पक्षमा रहेको बताइए पनि खुलेर बोलेका छैनन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनमा समर्थन रहेको बताएका छन् तर जेन-जीका नेतृत्वकर्ताहरूको फोनमा कुराकानी भएपछि उनी सहभागी नहुने स्रोतको भनाइ छ ।

जेन(जीले सोमबार राजधानीको माइतीघर मण्डलासहित देशका विभिन्न सहरमा शान्तिपूर्ण विरोधमा उत्रन आह्वान गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *