यी खेलाडीले तोडे कोहलीको कीर्तिमान



मुम्बई – भारतीय टिमका ब्याट्सम्यान सूर्यकुमार यादवले घरेलु क्रिकेटमा शतकीय पारी खेलेका छन् । उनले विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत पुडुचेरीविरुद्ध आक्रामक शतकीय पारी खेलेका हुन् ।

मुम्बईबाट प्रतियोगिता खेलिरहेका यादवले ५० बलमै शतक बनाए । योसँगै उनले लिस्ट ‘ए’ क्रिकेटमा छिटो शतक लगाउने मामलामा विराट कोहलीलाई पछि पारेका छन् । लिस्ट ‘ए’ क्रिकेटमा विराटले सन् २०१३ मा जयपुरमा अष्ट्रेलियाविरुद्ध ५२ बलमा शतक बनाएका थिए । यादवले भने लिस्ट ‘ए’ क्रिकेटमा ५० बलमै शतक बनाए ।

योसँगै लिस्ट ‘ए’ क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने मामलामा सूर्यकुमार दोस्रो स्थानमा उक्लिएका छन् । अर्थात् उनी लिस्ट ‘ए’ क्रिकेटमा छिटो शतक बनाउने दोस्रो भारतीय खेलाडी बनेका हुन् ।

लिस्ट ‘ए’ मा भारतको तर्फबाट सर्वाधिक छिटो शतक बनाउने सूचीको शीर्ष स्थानमा यूसुफ पठान छन् । उनले सन् २०१० मा अहमदाबादमा महाराष्ट्रविरुद्ध ४० बलमै शतक बनाएका थिए ।

सूर्यकुमारले बिहीबार पुडुचेरीविरुद्ध कुल १ सय ३३ रन बनाए । उनले सो पारी खेल्न ५८ बलको सामना गरेका थिए । त्यसक्रममा यादवले २२ चौका र चार छक्का हिर्काएका थिए । उनले शतक बनाएको सो खेलमा कप्तान पृथ्वी शाले दोहोरो शतकीय पारी खेले ।

पृथ्वीले १ सय ५२ बलमा ३१ चौका र पाँच छक्काको मद्दतमा अविजित २ सय २७ रन बनाएका थिए । पृथ्वी र सूर्य चम्किँएको सो खेलमा पुडुचेरीविरुद्ध मुम्बई २ सय ३३ रनले विजयी भएको थियो । एजेन्सी