चार महिनापछि कोरोनाका नयाँ संक्रमित,२४ घण्टामा ९ हजारमा संक्रमण पुष्टि



नयाँ दिल्ली – भारतका थुप्रै राज्यहरुमा पछिल्ला केही दिनदेखि कोरोनाको तथ्यांक पुन:बढ्न थालेको छ । महाराष्ट्रमा कोरोना संक्रमणको गति विष्फोटक हुँदै गैरहेको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ७ जना नयाँ संक्रमित थपिएका छन् । यो १८ अक्टोबरपछि सबैभन्दा ठूलो तथ्यांक हो । यस्तै राज्यमा पछिल्लो २४ घण्टामा ८० जना व्यक्तिको निधन भएको छ । यो पछिल्लो ५६ दिनमा सबैभन्दा ठूलो हो ।

यसअघि गत डिसेम्बर ३० का दिन ९० संक्रमितले ज्यान गुमाएका थिए । राजधानी नयाँ दिल्लीमा पनि संकट गहिरिँदै छ । दिल्लीमा बुधवार दुई सय जना मानिसमा संक्रमण पाइएको छ भने दुई जना संक्रमितको निधन भएको छ ।

बढिरहेको कोरोनाको गतिलाई मध्यनजर गर्दै दिल्लीमा ५ वटा राज्यबाट आउनेहरुका लागि कोरोना परीक्षण अनिवार्य गरिदिएको छ ।कोरोना भाइरसले पुनस् एक पटक महाराष्ट्रलाई डराउन थालेको छ ।

सबैभन्दा ठूलो चिन्ता विदर्भका शहरहरु तथा मुम्बईको छ । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा कोरोनाबाट ८० जनाको निधन भैसकेको छ ।मुम्बईमा १ सय १९ दिनपछि संक्रमितको संख्या १ हजार कटेको छ ।

पछिल्लो २४ घण्टामा मुम्बईमा १ हजार १ सय ६७ जना संक्रमित भएका छन् । पछिल्लो अक्टोबर १८ पछि यति बढी संक्रमित फेला परेका हुन् ।