आज गाईगोरु र गोवर्धनपूजा, म्हः पूजा पनि आजै

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा। शनिबार गाईगोरु र गोवर्धनपूजा गरिँदैछ। शनिबार ३१ ५३ घडीपला अर्थात् साँझ ७ बजेर १ मिनेटसम्म प्रतिपदा तिथि छ।

सामान्यतया कार्तिक कृष्ण औँसीका दिन गाईको र शुक्ल प्रतिपदाका दिन गोरुको पूजा गर्नुपर्ने मान्यता भए पनि पञ्चाङ्ग निर्णायक विकास समितिले शनिबार एकै दिन गाईगोरुको पूजा गर्न निर्देश गरेको छ।

लक्ष्मीको प्रतीकको रूपमा मानिने गाईको पूजा गरिन्छ। गाईको पूजा गरेर खानेकुरा खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ।

यस्तै गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छाडिदिने चलन छ। नेपालजस्तो पहाडी भूभाग भएको मुलुकका लागि कृषिकर्ममा गोरु ज्यादै उपयोगी जनावर मानिन्छ। कृषिकर्म गर्ने कृषक वा पशुपालकको समेत पूजा गरिने भएकाले यो दिनलाई हलीतिहार पनि भनिन्छ।

गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ।

द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ।

भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि यसको पूजा गर्ने परम्परा बसेको पुराणमा उल्लेख छ। गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत हुन दिन नहुने सन्देश पाइन्छ।

गोवर्धनपूजाका अवसरमा देवालय तथा बाटोमा तोरण टाँग्ने र रात्रिमा पनि नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने चलन छ। यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ।

उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी (द्यौसी) खेल्ने परम्परा छ। देउसीसँगै स्थान विशेषअनुसार बालन, खैँजडी भजन गाउने चलन पनि छ। उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि बताइएको छ।

त्यस्तै कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ। प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।

आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ।

शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो। यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *