७ दिनका लागि निलम्बनमा परे रास्वपा महामन्त्री डा. मुकुल

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

महामन्त्री ढकालमाथि लिनुपर्ने कारवाही तथा असहज परिस्थितिको निराकरणका लागि आकस्मिक रुपमा अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटालाई आमन्त्रण गरेर परामर्श गरिएको झाले बताए।

महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको तत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट सात दिनका लागि निलम्बन गर्ने सर्वसम्मत निर्णय भएको सहप्रवक्ता झाले जानकारी दिए।

साथै, ढकालले गरेको पार्टी अनुशासनविपरीतको गतिविधिका सम्बन्धमा प्रतिवेदन तथा यथोचित कारवाहीको सिफारिस केन्द्रीय समितिमा पेस गर्ने निर्देशन केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।

केन्द्रीय समितिले सभापतिको प्रस्तावमा सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ता तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *