

इन्स्पेक्टर शिवाकोटी, जो जाने भए बालिका बलात्कारको आरोपमा थुनामा

काठमाडौं । बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर प्रसाद शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
बुधबार न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको हो ।
घरमा घरेलु कामदारका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो ।
शिवाकोटीलाई स्वयम्भु प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।
प्रहरीका अनुसार, ती बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् । उनले घरायसी काममा सहयोग गर्दै कक्षा ८ मा पढ्दै आएकी थिइन् ।
४५ वर्षीय शिवाकोटीले आफूलाई तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी गरेको बालिकाको बयान छ ।