नेपाल आर्मीलाई राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि

पोखरा । नेपाल आर्मीले पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि बुधबार जितेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनलमा आर्मीले नेपाल प्रहरी क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्यो। आर्मीका प्रदीप राजवंशीले ४ गोल गरे। अर्को गोल दीपेन्द्र ऐरले थपे। प्रहरीका रोमन रानाले सान्त्वना गोल फर्काए।

आर्मीका मनोज चौधरी फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उपाधिसँगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने प्रहरीले ३० हजार नगद पुरस्कार हात पार्यो। नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ७–१ गोलले हराउँदै तेस्रो भयो।

गण्डकीका लागि ‘प्लेयर अफ द म्याच’ असीम बाहेकले ह्याट्रिक गरे भने प्रेम विकले २ तथा कुशल नेपाली र पवन परियारले समान १–१ गोल गर्दै जित अन्तर फराकिलो बनाए। गण्डकीले १५ हजार नगद पुरस्कार प्राप्त गर्यो।
प्रतियोगितामा दीपेन्द्र ऐर उत्कृष्ट खेलाडी, पुरन ओली उत्कृष्ट गोलरक्षक र रोशन चौधरी उत्कृष्ट डिफेन्डर घोषित भए भने प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता बने। उत्कृष्ट चारै आर्मीका हुन्। कर्णालीका सुशान्त रोकाया उदीयमान खेलाडी चुनिए।

पाँचैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे। विजेतालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, पूर्व सभासद् शारदा पौडेल, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीन दिने प्रतियोगितामा दुई विभागीय र ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *