निर्माण व्यवसायी महासंघद्वारा उपकरण आगजनीको निन्दा



काठमाडौं । निर्माण व्यवसायीलाई अज्ञात समूहबाट निरन्तर हतोत्साहित गर्ने, उपकरणमा आगजनी गर्नेजस्ता हिंसात्मक घटना नरोकिएको प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

लमजुङमा नेपालडाँडा–तारकुघाट–बोर्नाग खोलाको सडकखण्ड निर्माणमा प्रयोग हुँदै आएको लामा कन्स्ट्रक्सन प्रालिको हेभी उपकरणमा अज्ञात समूहले आगजनी गरेको छ । राइनास नगरपालिकाको इलाका प्रहरी कार्यालय नजिक पार्किङ गरिराखिएको बा २ क ७६१३ नम्बरको रोलरमा आगजनी गर्दा रोलरमा पूर्ण क्षति पुगेको महासङ्घका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटकपटक प्रधानमन्त्रीसहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा यस्ता हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण ठप्प पारी महासङ्घ सशक्त आन्दोलनमा जान बाध्य हुने महासचिव दाहालले बताए ।

तत्काल दोषीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीलाई क्षतिपूर्ति दिन महासङ्घले जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासङ्घले विज्ञप्तिमार्फत पुनः एक पटक सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।