राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज



काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ ।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

यसअघि संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेसका शर्मा र माओवादी केन्द्रका दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् । शर्माको पक्षमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् ।

5466