नेपालले पहिले ब्याटिङ गर्दै, टिमबाट बाहिरिए सोमपाल र देव खनाल



काठमाडौं । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगितामा आइतबार घरेलु टोली नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । जारी शृंखलामा यसअघि नेपालले एकपटक नेदरल्यान्ड्सलाई हराइसकेको छ । जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स दुबैले आफ्नो चौथो तथा अन्तिम खेल खेल्न लागेका हुन् ।

नामिबियाले भने आफ्नो चार खेल खेलिसकेको छ । चारमध्ये तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । नामिबियाले यसअघि दुई खेलमा नेपाललाई हराएको थियो । एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

यसैगरी हालसम्म तीन खेल खेलेको नेपाली टोली एक जितबाट दुई अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । तीन खेल खेलेको नेदरल्यान्ड्स भने दुई अंकसहित तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले एक खेलमा नामिबियालाई हराएको थियो ।

नेपालले आज टिममा दुई परिवर्तन गरेको छ । नेपालका तर्फबाट सोमपाल कामी र देव खनाल टिमबाट बाहिरिएका छन् भने उनीहरुको स्थानमा गुल्सन झा र आरिफ शेख भित्रिएका छन् ।