कावासोतीको बघवनमा हुने ‘दोस्रो नेपाल चरा उत्सव’को तयारी पूरा



नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नं. १३ बघबन गैरीमा ‘दोस्रो नेपाल चरा उत्सव’को तयारी पूरा भएको छ ।

चराको माध्यमबाट चरा पर्यटनको विस्तार गर्ने मुख्य उद्देश्यसहित शुक्रबारदेखि तीन दिनसम्म आयोजना हुने उक्त महोत्सवको तयारी पूरा भएको महोत्सवका मुख्य संयोजक मनशान्त घिमिरेले जनाए ।

पोखरा बर्ड सोसाइटी तथा चरा शिक्षालयले आयोजना गर्ने उक्त महोत्सवमा विदेशी पाहुना तथा पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।

चरा तथा पशुपंक्षीको संरक्षणको मुख्य उद्देश्यसहित आयोजना गर्न लागिएको यस महोत्सवले दिगो चरा संरक्षण, पर्यावरण विस्तार, शिक्षा जस्ता मुख्य सन्देश दिने अपेक्षा लिएको आयोजकले जनाएका छन् ।

उत्सवमा पंक्षी पहिचान तालिम, ट्रेड प्याकेज, फोटो प्रदर्शनी, पंक्षि कला प्रदर्शनी, पेपर तथा पोस्टर प्रस्तुती एवं विश्वमै संरक्षित पंक्षी प्रजाती गिद्धका गतिविधि अवलोकन एवं जंगल सफारी रहने पनि संयोजक घिमिरेले जनाएका छन् ।

उक्त उत्सवका अवसरमा आँखा र दन्त शिविर पनि सञ्चालन हुने महोत्सवका व्यवस्थापक डिबी चौधरीले जनाए । चौधरीले चरासम्बन्धी ज्ञान लिन र पूर्वी नवलपुरका साथै कावासोतीको पहिचानका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने दायित्व रहेको पनि जनाए ।