

कावासोतीमा हिजोदेखि हराइरहेका बालक मृत फेला

कावासोती । पूर्वी नवलपुरको कावासोती नगरपालिकाको वडा नं. ४ हसौरामा मंगलबारदेखि हराइरहेका बालक मृत भेटिएका छन् ।
कावासोती–४का पूर्व वडाध्यक्ष रामजी ढुंगानाका ३० महिनाका नाती सुवास ढुंगाना आज बिहान सवा ९ बजेतिर कावासोती ४ हसौरास्थित चिलाहाको हसौरा खोला किनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
घटनास्थलमा अहिले प्रहरी पुगेर घटना स्थलको मुचुल्का तयार पार्ने काम भइरहेको उनले बताए ।
बालक हिजो विहान हसौरा नजिकै साइकलमा खेलिरहेको अवस्थामा एक्कासी बेपत्ता भएका थिए । उनलाई खोलाले बगाएको आशंकामा प्रहरी र स्थानीयले खोजी गर्दा आज भेटिएको हो ।