कांग्रेसको ‘बोल्ने होइन सुन्ने’ अभियान आजदेखि

काठमाडौं । नेपाली कांग्रेसले माघ १३ गते सुरु हुन गइरहेको ‘समुदायमा कांग्रेस अभियान’ मा मुख्यगरी नागरिकको गुनासो सुन्ने बताएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यस अभियानमा कांग्रेस आफैँ बोल्ने नभई कांग्रेससँगको गुनासो, अपेक्षा सुन्ने कार्यक्रम रहेको बताए।

पौडेलले भने, ‘मूलतः जनता, नागरिकको कांग्रेससँगको अपेक्षा, भरोसा या चाहना के भन्नुहुन्छ, ती सम्बन्धी उहाँहरूको गुनासो सुन्ने हो । कांग्रेस आफैँ धेरै बोल्ने कार्यक्रम होइन, यो नागरिकको कुरा सुन्ने कार्यक्रम हो ।’

उनले माघ १३ देखि २६ गतेसम्म सञ्चालन हुने अभियानमा केन्द्रीय सदस्यहरू ७७ वटै जिल्ला जाने तथा पार्टीका पदाधिकारीहरू पनि वडा तहमा जाने कार्यक्रम रहेको बताए।

उनले भने, ‘केन्द्रीय सदस्यहरू प्रतिनिधिका रूपमा ७७ जिल्ला जानुहुन्छ । पदाधिकारीहरू जिल्ला, वडामा जानुहुन्छ । मूलतः आम नागरिकको नेपाली कांग्रेससँग के गुनासो छ ? के अपेक्षा छ ? तीन तहको सरकारको डेलिभरीको अवस्था के छ ? आम नागरिकले कांग्रेससँग के चाहन्छ ? स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई प्रभावकारी बनाउन सुझाव लिइनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *