रुसमा ज्यान गुमाएका हरिको ‘कुश’मै अन्तेष्टी…



स्याङ्जा । रुसमा ज्यान गुमाएका वालिङ नगरपालिका– १४, मान्खुका हरिप्रसाद अर्यालको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

रुसी सेनामा भर्ती भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी पाएपछि परिवार शव आउने आशामा बसेको थियो । झन्डै दुई महिनासम्म पनि शव आउने सम्भावना नदेखेपछि परिवारले अन्तिम संस्कार गरेको हो ।

वालिङ नगरपालिका १४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले परिवारले राम्दीस्थित कालीगण्डकी तटमा कुशको शव बनाएर अर्यालको अन्तिम संस्कार गरेको जानकारी दिए । परिवार शव आउँछ कि भन्ने आशामा बसेको थियो, त्यस्तो नभएपछि अन्तिम संस्कार र किरियाकर्म सुरु गरेको वडाअध्यक्ष कुँवरको भनाइ छ ।

परराष्ट्र मन्त्रालयले डिसेम्बर ३ मा घटना भएको भन्दै वडा कार्यालयमार्फत डिसेम्बर २८ मा परिवारलाई खबर गरेको थियो । नेपाली सेनामा भर्ती भएका अर्याल झन्डै तीन वर्षमा नै जागिर छोडेर दुबई हुँदै रुस पुगेका थिए । गत कात्तिक ३ गते दुबईबाट रुस पुगेका अर्यालको युद्धमा परेर ज्यान गएको हो ।

अविवाहित अर्यालको घरमा बुवा, आमा र दुई भाउजू छन् । दुई जना दाजु रोजगारीको सिलसिलामा दुबईमा रहेका छन् । हरिका माइलोबुवा हुमकान्त अर्याल हिन्दु संस्कार अनुसार किरिया बसेको परिवारले जनाएको छ ।

यसअघि स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्कीको पनि शव नआएपछि परिवारले कुशको शव बनाई अन्तिम संस्कार गरिएको थियो । जिल्लाबाट रुसी सेनामा भर्ती भएका दुई जनाको मृत्यु भएको छ ।