मुलुककै कान्छा सहसचिव परियार परे बालेनको राेजाईमा, सम्हाल्दै काठमाडाैं महानगर



काठमाडौं । मुलुककै कान्छा सहसचिव प्रदिप परियारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

राष्ट्रिय योजना आयोगमा कार्यरत परियार सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौं महानगर सरुवा भएका हुन् ।

मेयर बालेन्द्र शाहले परियारसहित तीन जनाको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए । सिफारिस गरिएका मध्येबाट परियारलाई काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाएको हो । काठमाडौँ महानगर केही दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन थियो।

युवा उमेर र काम गर्नसक्ने क्षमता देखेपछि परियारलाई मेयर शाहकै इच्छाअनुसार काठमाडौँ महानगर पठाइएको हो । परियारलाई महानगरमा ल्याउन मेयर शाहले पनि चाहना राखेका थिए । परियार देशकै कान्छो सहसचिव हुन् ।

परियारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ७ वर्ष शाखा अधिकृतको रुपमा काम गरेको अनुभव छ । २०४६ साल वैशाखमा जन्मिएका परियारलाई ०७८ चैत ८ गते लोक सेवाको बैठकले सहसचिवमा सिफारिस गरेको थियो ।

उनी नायब सुब्बा, शाखा अधिकृत हुँदै सहसचिव बनेका हुन् । उनले १ वर्ष नायब सुब्बा र ८ वर्ष शाखा अधिकृतको रुपमा काम गरेका थिए । परियार २०६९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । स्नातक पब्लिक युथ क्याम्पस गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर हुन् ।

महानगर स्रोतका अनुसार परियारलाई सोमबार कार्यालयमा स्वागत गर्ने तयारी छ । परियार आउने भएपछि महानगरका कर्मचारी पनि उत्साहित छन् ।