आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता आजबाट, नेपालकाे खेल कहिले ?



काठमाडौं । नेपालसहित १६ देश सहभागी रहेको आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण आज (शुक्रबार) देखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच खेल हुनेछ ।

यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ ।

नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन् । यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिख अर्थात् आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे र नामिबिया रहेका छन् । समूह ‘बी’ मा आयोजक दक्षिण अफ्रिका, इङ्गल्यान्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन् । समूह ‘ए’ मा भने भारत, बङ्गलादेश, अमेरिका र आयरल्यान्ड परेका छन् ।