बालकुमारी घटनाः डिआइजी आचार्यको संयोजकत्वमा समिति गठन



काठमाडौं । शुक्रबार दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।

डीआइजी लालमणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहार कमल गिरीले बताए ।

उनीहरुलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।

कोरियन भाषा परीक्षामाको आवदेन दिन नपाएको भन्दै आक्रोशित समूहले शुक्रबार बिहान बालकुमारी क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएको थियो ।

त्यसपछि आक्रोशित युवाहरुले ललितपुरको चक्रपथ क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा घाइते भएका दुई जना युवाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।