नेपाली सेनाको स्वास्थ्य शिविरमा ३ हजार २ सयले लिए निःशुल्क सेवा

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य सेवा शिविरमा ३ हजार २ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन्।

जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीयले शिविरमा स्वास्थ्य जाँच गराएका छन्। प्रतापपुर गाउँपालिका–७ जगरनाथपुरमा रहेको गणेश माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

शिविरमा बालरोग‚ स्त्री तथा प्रसूति रोग, नाक, कान, घाँटी, छाला, हाडजोर्नी‚ आँखा र दाँतलगायत विभिन्न १३ वटा रोगको जाँच गरिएको गोरखदल गणका प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले बताए।

शिविरमा १७ जना विशेषज्ञ चिकित्सकसहित ५४ जना स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा सबैभन्दा बढी ज्येष्ठ नागरिकले सेवा लिएका थिए।

खासगरी विशेषज्ञ रोगका चिकित्सकको स्वास्थ्य सेवाको पहुँचमा नभएका नागरिकले उक्त सेवा लिएपछि खुसी व्यक्त गरेको प्रमुख सेनानी श्रेष्ठले बताए।

प्रतापपुर गाउँपालिका र देवदह मेडिकल कलेजको सहकार्यमा उक्त स्वास्थ्य शिविर सञ्चालन भएको हो। जसमा प्रतापपुर गाउँपालिका‚ जिल्ला अस्पताल र केही स्थानीय स्वास्थ्य संस्थाको सहयोगमा करिब ८ लाख रुपैयाँ बराबरको निःशुल्क औषधि वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *