चन्द्रागिरि नगरपालिका र मेट्रो रक्तसंचार सेवाबीच सम्झाैता



काठमाडाैं । चन्द्रागिरि नगरपालिका र मेट्रो रक्त संचार सेवा बीच चन्द्रागिरि नगरपालिकाका  बासिन्दाहरुलाई आवश्यकता परेको खण्डमा निःशुल्क रुपमा रगत उपलब्ध गराउने सम्बन्धि दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा चन्द्रागिरि नगरपालिका र मेट्रो रक्त संचार सेवाबीच एक सम्झौता पत्र हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । नगरबासीलाई आवश्यक पर्दा सरल, सहज र निशुल्क रगत उपलब्ध गराउन यस सम्झौताले सहजीकरण हुने कुरा पनि नगर प्रमुखले बताए । यसअघि नै नेपाल रेडक्रस सोसाइटीले चन्द्रागिरि नगरवासीहरुलाई निःशुल्क रगत उपलब्ध  गराउँदै आएको थियो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचार सेवा बीच उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा नगरपालिकाका स्थायी बसोबास गर्ने नगरबासीका लागि निशुल्क रगत उपलब्ध गराउने सम्बन्धि सम्झौता हस्ताक्षर सम्पन्न भएर सेवा प्रदान  शुरु गरिसकेको छ।

मेट्रो रक्त संचार सेवा संगको सम्झौता पश्चात नगरबासीहरुलाई आवस्यकता परेको अवस्थामा थप सुबिधा मिल्ने कुरा  नगरप्रमुख  गिरीले बताएका छन् । नगरपालिकाले निकट भविष्यमा संचालन गर्न लागेको डायलासीस सेवामा पनि यस सम्झौताले सहयोग पुग्ने  बताएका छन्।

चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल परिसरमा अर्को २५ शैयाको अस्पतालको निर्माण शुरु भैसकेको र उक्त अस्पतालको निर्माण पश्चात नगरबासीहरुको लागि डायलासिस सेवा पनि शुरु गरिने नगर प्रमुखले जानकारी गराएका छन्।