मेजर क्षेत्री कारबाहीमा, महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप



काठमाडौं – नेपाल सेनामा कार्यरत एक मेजरलाई महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही गरिएको छ।

श्री नम्बर २ सैन्य तालिम केन्द्रमा कार्यरत मेजर सूर्यबहादुर क्षेत्रीको दुई वर्षसम्मका लागि बढुवा रोक्का गरिएको हो।

गलत मनशायले महिला कर्मचारीलाई फोन तथा सामाजिक सञ्जालमा म्यासेज पठाउने आरोप उनीमाथि लागेको थियो।

साथै उनले तालिम गरिरहेकी कर्मचारीलाई कोठा सफा गर्ने बहानामा निषेधित इलाका (पुरुष अधिकृतको कोठा) मा प्रवेश गर्न लगाएर दुर्व्यवहार गर्न खोजेका थिए ।

‘अनुशासन तथा आचरणसम्बन्धी कसूर’ अन्तर्गत उनलाई सजाँय सुनाइएको हो।

उक्त हर्कतविरुद्ध उजुरी परेपछि मध्य पश्चिम पृतना हेडक्वार्टरका सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा समरी जनरल सैनिक अदालत गठन गरिएको थियो। उनले सैनिक ऐन, २०६३, दफा ४५ को खण्ड (क), दफा ५२ को खण्ड (६) र खण्ड (झ) बमोजिमको कसूर गरेको ठहर गर्दै अदालतले दुई वर्षका लागि बढुवा रोक्का गरेको हो।