महानगरका वडा सदस्यसहित ४ जना ठगीको अभियोगमा पक्राउ



पोखरा । ठगी आरोपमा वडा सदस्यसहित चार जनालाई कास्की प्रहरीले पक्राउ परेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, बैदामकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् ।

फोटोग्राफी व्यवसाय दर्ता गरिदिने भनी १३ हजार ५०० रुपैयाँ लिएको तर दर्ता नगरिदिएको भन्दै १५ जना व्यक्तिहरुले उनीहरुविरुद्ध उजुरी दिएका थिए ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

फेवातालमा ठगी सम्बन्धी समाचार पत्रकार अपिल त्रिपाठीले सञ्चालन गर्ने गण्डकी छड्के टेलिभिजन कार्यक्रमले प्रसारित गरेपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।