सशस्त्रद्वारा बागमतीमा फसेका व्यक्तिको उद्धार



काठमाडौं । सशस्त्र प्रहरीले गए राति २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ।

काठमाडौंको दक्षिणकाली नगरपालिका-८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो।

पानीको बहाब कम भएको बेला नदी पारि गएका लामा बहाब बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए।

सोबारे खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद् उद्धार उपत्यका गणबाट गोताखोर सहितको ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट गएको १५ जना सहितको सुरक्षाफौजले रातको समयमा  उनको सकुसल उद्धार गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए।

मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य विधिको प्रयोग गरी उद्धार गरेपश्चात लामालाई आफन्तको जिम्मा लगाइएको छ।