पाल्पा दुर्घटनाः प्रहरी सहायक हवल्दार गोदारसहित मृतक ३ नै जनाको सनाखत, कहाँका को–को परे ? (नामसहित)

पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा मृत्यु भएकाहरूको पहिचान खुलेको छ।

मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने चालक सकुशल रहेको सूचना अधिकारी थापाले बताए। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको र बाँकी ७ जनाको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ।

तानसेन–तम्घास सहायक राजमार्गको रिब्दीकोट –२ जोर्तेमा ढुङ्गासहितको पहिरोले रूरू रेसुङ्गा यातायात प्रालिको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी पुरिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *