नेपाली सेनाको पाँचदिने हातेमालो कार्यक्रम सम्पन्न



विराटनगर – भैरव गणको नेतृत्वमा पाँचदिने हातेमालो कार्यक्रम सम्पन्न भएको छ। जनप्रतिनिधि, सुरक्षाकर्मी साथै विपद् व्यवस्थापनसँग सम्बद्ध निकायसँग  एकापसमा जानकारी आदानप्रदान  गर्ने उद्देश्यले नेपाली सेनाको मोरङस्थित भैरव गण थलाहामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

हातेमालो कार्यक्रम सेनाले प्रत्येक वर्ष सञ्चालन गर्दै आइरहेको भैरव गणका गणपति प्रमुख सेनानी अमृत थापा मगरले जानकारी दिए। यो कार्यक्रमले निरन्तरता पाएको पाँच वर्ष पूरा भएको छ।

हातेमालो कार्यक्रम जेठ ७-८ गते नेपाली सेनाको जंगी अड्डामा  सञ्चालन भएको र  जेठ २७-२८ गते सुनसरीस्थित नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टरमा सञ्चालन भएको प्रमुख थापाले जानकारी दिए।

सेनानी थापाले भने,‘विपद्को काल्पनिक घटनामा आधारित कथामा सहभागीलाई प्रदेश, जिल्ला स्थानीय आपत्‌कालीन सञ्चालन केन्द्र लगायतका समूहमा विभाजन गरी विपत्‌का वेला कसरी  काम गर्न सकिन्छ भनेर  छलफल गरिएको थियो।’

कटहरी गाउँपालिका प्रमुख  देवराज चौधरीले  हातेमालो कार्यक्रमले विपत्‌मा सुरक्षाकर्मी, सञ्चारकर्मी रेडक्रस जनप्रतिनिधिको  सहकार्य महत्त्वपूर्ण रहेको बताए।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले हातेमालो कार्यक्रमले विपत्‌का वेला थप  महसुस गराउने बताए।

कार्यक्रममा  नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला स्वास्थ्य कार्यालय, रेडक्रस सोसाइटी लगायतका विपद् सम्पर्क व्यक्ति सहभागी थिए।