मातहतका कर्मचारी कुट्ने इन्स्पेक्टर राई र दुई जवान निलम्बित



काठमाडौं । झापास्थित सीमा क्षेत्रमा मातहतका कर्मचारीलाई खोलामा चोबलेर बाँसको भाटाले कुट्ने इन्स्पेक्टर निलम्बित भएका छन् । मंगलबार झापास्थित नकलबन्दमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार र जवानहरुलाई कुटपिट गर्ने सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) नमप्रभाव राई र जवानहरू रामसुन्दर तामाङ तथा जीवन बास्तोलालाई निलम्बन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक राईलाई गृह मन्त्रालय तथा  जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको हो।

यसअघि सो घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सिपी) गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीबाट निरीक्षणका लागि सादा पोसाकमा खटिएका इन्स्पेक्टर राईले ड्युटी राम्रो नगरेको भन्दै झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्रमाथि कुटपिट गरेका थिए।

निरीक्षक राईसहितको टोलीले मंगलबार राति कुटपिट गर्दा सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दार रामबहादुर कार्की, गणेश तामाङ र सहायक हवल्दार शान्तबहादुर राई र जवान उमेश राजवंशी घाइते भएका छन्।