मातहतका कर्मचारी कुट्ने इन्स्पेक्टरको छानबिनका लागि सशस्त्रले गर्यो केन्द्रीय छानबिन समिति गठन

एआईजी सिपी गौतमको संयोजकत्वमा तीन सदस्यीय केन्द्रीय छानबिन समिति, एसएसपी हुमागाईंको अध्यक्षतामा ५ सदस्यीय प्रदेशस्तरीय समिति



काठमाडौं । ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दारहरुसहितका ५ जनालाई मेची खोलामा चोपल्दै बाँसको भाटाले हानेको घटनाका लागि सशस्त्र मुख्यालय हलचोकले छानबिन समिति गठन गरेको छ ।

मंगलबार राती भएको घटनाको छानबिनका लागि मुख्यालयलले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सिपी) गौतमको संयोजकत्वमा केन्द्रीय छानबिन समिति गठन  गरेको हो ।

झापाको मेचीनगर–४ स्थित नेपाल–भारत सीमा नकलबन्दमा मंगलबार राति प्रहरी निरीक्षक (इस्स्पेक्टर) नमप्रभाव राईसहितको टोलीले ड्युटीमा रहेका ५ जना सशस्त्र प्रहरीलाई भाटाले हानेर घाइते भएका थिए ।

उक्त घटनाका सम्बन्धमा एआईजी गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

घटनाको छानबिनको लागि कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंको अध्यक्षतामा बुधबार नै ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

उक्त घटनामा इन्स्पेक्टर राईसँगै जवानहरु रामसुन्दर तामाङ तथा जीवन बास्तोलाले पीडित प्रहरीहरुलाई कुटपिट गरेकोले घाइते भइ उपचारका लागि अस्पताल लगिएको छ । पोशाकमा रहेका आप्mनै मातहतका कर्मचारीलाई कुटपिट गर्ने इन्स्पेक्टर राईसहितको टोलीले स्थानीयको अवरोधपछि कुट्न छाडेको थियो । उनीहरुलाई अहिले सशस्त्र मुख्यालयले निलम्बनका लागि प्रक्रिया अगाडि बढाएको छ । राई र तामाङ यसअघि पनि पटकपटक कारबाहीमा परेको जनाइएको छ ।

सादा पोशाकमा खटिएका इन्स्पेक्टर राईको टोलीले ड्युटीमा खटिएका सशस्त्रका प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीलाई पानीमा चोपल्दै हेल्मेटका साथै भाटाले कुटपिट गरेका थिए।