राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा सुनुवार नियुक्त



काठमाडाैं । आदिवासीहरूका लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष सञ्चालन गर्न एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिको रुपमा देवकुमार सुनुवार नियुक्त भएका छन् । कोष संचालनका लागि सुनुवारले महासचिवलाई एसिया र प्रशान्त क्षेत्रका आदिवासीहरूको तर्फबाट सल्लाह दिनेछन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२१ जनवरीदेखि सन् २०२३ सम्मका लागि मनोनित गरेको सुनुवारले जानकारी दिए । सुनुवारसँगै कंगोका डायल मोचिरे, क्यानाडाका मार्जोलेन एटिने, डेनमार्कका टुकुमिङग्वाक न्याक्जेर ओल्सेन र बेलिजका पाब्लो मिसलाई पनि महासचिव गुटेरेसले सल्लाहकार सदस्यमा मनोनयन गरेका छन् ।

सुनुवारको कार्यकाल सन् २०२१ जनवारीदेखि सन् २०२३ अन्त्यसम्म रहनेछ । २०२१ जनवारी १ देखि उनले कार्यभार सम्हाल्नेछन् ।

एशिया र प्रशान्त क्षेत्रका सल्लाहकारको रुपमा चुनिएका सुनुवारले स्वीजरल्यान्डको जेनेभास्थित मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको मुख्य कार्यालयमा फेलोको रुपमा सन् २०१० मा आदिवासीहरूको मानव अधिकारसम्बन्धी प्रशिक्षण प्राप्त गरेका छन् । आदिवासीहरूको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्रसंघको निकायहरूसँग निकट भई काम गरेका सुनुवार आदिवासीहरूको क्षेत्रमा संयुक्त राष्ट्रसंघले गरेको कार्यहरूबारे जानकार छन् ।

उनी संयुक्त राज्य अमेरिकाको बोस्टनस्थित कल्चरल सर्भाइभल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको एसिया र प्रशान्त क्षेत्रको संयोजकको रुपमा कार्यरत छन् । सुनुवारले सन् २०१५ देखि संयुक्त राष्ट्रसंघ अन्तर्गत इण्डिजिनियस मिडिया ककसको नेतृत्व गर्दै आएका छन् । उनले संयुक्त राष्ट्रसंघको रेडियो, टेलिभिजनमा आदिवासीहरूको आवाज समेट्न र आदिवासीहरूले संचालन गरेको सञ्चार माध्यमलाई सहयोग पु¥र्यउन संयुक्त राष्ट्रसंघभित्र स्थान उपलब्ध गराउन योगदान पुर्याउँदै आएका छन् ।

सुनुवारले अन्तर्राष्ट्रिय कानून र मानव अधिकार, राजनीतिशास्त्र, आमसंचार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । संयुक्त राज्य अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कल्चरल सर्भाइभलका एसिया कार्यक्रम संयोजक समेत रहेका सुनुवार हाल काठमाडौं स्कुल अफ लमा अन्तर्राष्ट्रिय कानून अध्यापन गर्दछन् ।

आदिवासी पत्रकारिताको क्षेत्रमा विगत १५ वर्षदेखि कलम चलाउँदै आइरहेका सुनुवार नेपालका आदिवासीहरूद्वारा संचालित पहिलो सामुदायिक टेलिभिजन, इण्डिजिनियस टेलिभिजनका संस्थापक अध्यक्ष हुन् ।